रक्षाबन्धन पर्व सोमबार भव्यताका साथ मनाईएको छ । अव कुशेऔंसी (बुवाको मुख हेर्ने दिन), तिज, श्रीकृष्ण जन्माष्टमी, जितिया लगायतका चाड आउने छन् । त्यस लगत्तै महान पर्व दशैंको आगमन हुनेछ । दशैंपछि तिहार,छठ जस्ता ठूला पर्व पनि आउनेछन् ।
ठूला पर्व आगमनको क्रमसंगै बजार भाउ पनि आकाशिने क्रममा छ । दैनिक उपभोग्य लगायत अन्य वस्तुको भाउ चुलिन थालेपछि यसले आम उपभोक्तामा आर्थिक भार थप्नेमा आशंका रहने छैन । सामानको अनियन्त्रित रुपमा मूल्य बढाउन थालेपछि त्यसको अनुगमन गरी मुनाफाखोरीलाई प्रोत्साहन दिनेमाथि कारवाही थालियो भने मात्र जथाभावी सामानको मूल्य बढाउने क्रममा रोकावट आउने अपेक्षा लिन सकिने छ । तर यसरी नै छुट दिईरहने हो भने यसले कालाबजारीया तथा मुनाफाखोरलाई प्रोत्साहन नै मिल्ने र उनीहरुले अझै सामानको भाउ बढाउने कुरामा सन्देह रहने छैन । सरकारले जनतालाई तत्काल राहत दिने गरी कामको थालनी गर्ने हो भने यस प्रकारका विकृतिमाथि नियन्त्रण गर्ने सबालमा खुट्टा कमाउन मिल्दैन । महँगीबाट राहत पाए भने जनतामा यसले तत्कालै सरकार प्रतिको विश्वास बढ्ने कुरामा पनि सन्देह नरहला । आखिर जनताकालागि राहत पुग्ने गरी काम गर्नु सरकारको जिम्मेवारी पनि हो ।
यसले सरकार प्रतिको जनविश्वास बढ्ने र सरकारले पनि आफूले जनताकालागि गरेको कामको लिष्ट तयार गर्दा यस्ता विषयलाई निर्धक्कताका साथ प्रस्तुत गर्न सक्ने बातावरण तयार हुनेछ । सबै नेपालीले दशैंलगायतका ठूला पर्व मनाउन सकून् भन्नाकालागि पनि बजार मूल्य आकाशिएको प्रति चासो लिन आवश्यक छ ।