• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अबको एक महिनापछि दशैं सुरु हुनेछ । दशंैलगायतका ठूला चाडपर्व अव एकपछि अर्को गरी आउने क्रममा छन् ।
तर अहिलेदेखि नै बजार मूल्य अनियन्त्रित तबरमा बढ्न थालेको छ । यही हिसाबले बजारमूल्य बढेर जाने हो भने दशैं धेरैकालागि आकाशको फल जस्तै बन्ने निश्चित छ । किनकी दशैंमा मीठो खाने र राम्रो लाउने सबैको आकांक्षा हुन्छ । खासगरी विपन्न तथा श्रमजीवि वर्ग अरु बेला नभएपनि दशैंमा मीठो खाने र राम्रो लाउने प्रतिक्षामा रहन्छन् । वर्षमा एक पटक भए पनि मीठो खाएर अनि राम्रो लाएर रहन पुर्याउने धेरैको धोको रहन्छ । तर यही हिसाबले महँगी बढेर जाने हो भने ऋणै गरेर भए पनि चाड मनाउने ईच्छा पूरा गर्न चाहनेहरुकालागि दशैं दशा बनेर नजाला भन्न सकिन्न । सरकारले बहुसंख्यक जनताका समस्यालाई समेत दृष्टिगत गरी बजारमूल्य अनियन्त्रित तरिकाले बढ्न थालेको विषयमा चासो लिनु पर्ने हो । विपन्न जनतामाथि प्रत्यक्ष मार परिरहँदा पनि सरकाले कुनै चासो देखाउँदैन भने सरकार जनता प्रति उत्तरदायी छ भनि कसरी पत्याउन सकिएला ? तसर्थ विशेषतः हुँदा मात्र खाने वर्गका समस्या प्रति सरकारले उदारताका साथ उनीहरुले भोग्दै आएका समस्या प्रति ध्यान पुर्याउनु पर्ने समय आएको छ । उसै पनि जनता बेरोजगारीका कारणले समस्यामा छन् । तसर्थ विपन्न जनताकालागि राहतको काम गर्ने सबालमा सरकारले चासोका साथ काम गर्न सक्यो भने मात्र जनताले पनि उसलाई जनउत्तरदायीका रुपमा बुझ्ने छन् ।
तसर्थ जनताका यावत् समस्याप्रति चासो लिएर बजार अनुगमन गरी मुनाफाखोरी तथा कालोबजारीमा लागेकाहरु प्रति निगरानी बढाउन जरुरी छ ।