विगत केही सातादेखि हैजाको सङ्क्रमण बढ्दो छ । मुलुकका पाँच जिल्लामा फैलिएको हैजाबाट हालसम्म ५० जना प्रभावित भएका छन् ।
हैजा फैलनुको प्रमुख कारण दुषित पानीको प्रयोग नै हो । वर्षायाम भएका कारण पिउने पानीसित दुषित पानी मिसिने सम्भावना बढी रहने र यही कारणले अन्य खानेकुरा समेत दुषित हुने भएकोले यस्तो समयमा विशेष सचेतनाको आवश्यकता रहन्छ । हैजाबाट जोगिने प्रमुख उपायमा खानेपानीको शुद्धतामा ध्यान पु¥याउनु नै हो । हामीले पिउने पानी कसरी किटाणुरहित हुन्छ भन्नेमा ध्यान दिएर पानीको शुद्धिकरणका उपाय अपनाउने, सरसफाईमा ध्यान दिने गर्दा यो रोगको सङ्क्रमण हुने सम्भावना पनि न्यून रहन्छ । सप्तरीमा पनि धेरै जनाले अहिलेसम्म शुद्ध पिउने पानी पाउन नसकिरहेको अवस्था छ । दुषित पानीले हैजा मात्र होईन पानीजन्य अरु रोग लाग्ने सम्भावना पनि रहने भएका कारण यस्ता जोखिमबाट सुरक्षित रहनाका लागि पिउने पानी शुद्ध रहे नरहेको बारेमा विशेष ध्यान पु¥याउनु नै उपयुक्त हो । सरकारले पनि जनतालाई शुद्ध पानी उपलब्ध गराउने लक्षय त लिएको छ । तर व्यवहारता त्यस्तो सफलता मिल्न सकेको छैन । जनताको स्वास्थ्यसित प्रत्यक्ष सरोकार राख्ने पानी स्वच्छ तथा स्वस्थकर हुनुपर्नेमा द्विविधा रहन्न । मुख्य रुपमा हेर्दा अहिले वर्षायाम रहेकोले दुषित पानीका कारण हैजा नै फैलिन सक्ने जोखिम बढी देखिन्छ । छिट्टै फैलने र छोटो समयमा नै धेरैलाई प्रभावित तुल्याउन सक्ने भएका कारण यति बेला अझै बढी सावधानीको आवश्यकता छ । पानीबाट हैजा र अन्य पानीजन्य रोगको संक्रमण हुन सक्छ भन्नेमा कतिपयलाई अहिले पनि जानकारीको अभाव हुन सक्दछ । विशेषगरी दूरदराजका ग्रामीण बस्तीमा अहिले पनि खोलानाला तथा इनारको पानी पिउने प्रचलन हटिसकेको छैन । ती स्थानमा पनि जनतालाई स्वस्थकर पानी उपलब्ध गराउनका लागि सरकारी योगजना पुग्न सक्यो भने मात्र पानीका लागि खोला धाउनु पर्ने अवस्थाको अन्त्यका साथै दुषित पानी पिउनु पर्ने बाध्यताको अन्त्य हुन सक्दछ ।
यति बेला हैजा संक्रमणको जोखिम नै बढी भएका कारण यसबाट सुरक्षित रहने उपाय, पानीको शुद्धिकरण र सरसफाईका बारेमा जनस्तरमा जनचेतनामूलक कार्यक्रम लैजान सकियो भने त्यसको बढी प्रभावकारिता रहने छ ।