मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सरकारी कार्यालयहरुमा छड्के गर्न सुरु गरेका छन् ।
कार्यालयहरुमा कर्मचारी नबस्ने गरेको गुनासो उठ्न थालेपछि उनले आफै छड्के गर्न थालेका छन् । सुरुमा मन्त्रालयहरुमा छड्के गरेका मुख्यमन्त्री सिंहले त्यहाँ पनि कर्मचारी अनुपस्थित रहेको धेरै भेटाए । कर्मचारी कार्यालयमा भेटिएका मध्ये पनि कतिले हाजिरी नै नगरेको भेटियो । यसैगरी कतिपय विदामा बसेको भनिएपनि पहिले नै विदा स्वीकृत नगराएका पनि फेला परे । मुख्मन्त्रीले यसरी कार्यालयमा कर्मचारी अनुपस्थित रहन थालेपछि पहिलो पटक सुधारका लागि निर्देशन दिएको भन्दै यस्तै कमजोरी दोहोरिए कारवाही चलाउनेतिर लाग्ने समेत बताईसकेका छन् । मन्त्रालयमा त यसरी कर्मचारी अनुपस्थित रहन थालेपछि अन्य जिल्लाका कार्यालयहरुको अवस्था कस्तो होला ? अनुमान लगाउन गाह्रो नपर्ला । विशेष गरी आर्थिक वर्ष समाप्त भई नयाँ आर्थिक वर्ष सुरु भएको समयमा कर्मचारी कार्यालयमा बढी अनुपस्थित रहने गरेको पाईन्छ । कार्यालयमा कर्मचारी नरहँदा यसबाट सेवाग्राहीहरुको काम प्रभावित बन्नु स्वाभाविकै हो । जरुरी कामले कतिपय अवस्थामा कर्मचारीले विदा लिनु पर्ने अवस्था आउन पनि सक्दछ । तर यसको पनि विधि र प्रकृया नरहेको भने होईन । विदा स्वीकृत गर्दा पनि कार्यालयको काममा बाँधा नपुगोस् भनी त्यसको व्यवस्था मिलाउने, एकै पटक एक भन्दा बढी कर्मचारीको विदा स्वीकृत गर्नुपर्दा काम प्रभावित नहोस् भन्नका लागि आलोपालो विदा बस्न लगाउने लगायतका विभिन्न उपाय गर्न सकिन्छ । यस्तै समयमा कार्यालय नआउने, आएका भएपनि हाजिरी गरेर अन्यत्र जाने प्रवृत्ति पनि कतिपय कार्यालयमा नदेखिएको होईन । मुख्यमन्त्रीले त केही मन्त्रालय तथा सरकारी कार्यालयहरुमा छड्के गर्दा कर्मचारी अनुपस्थित रहेको भेटियो । यस्तो प्रवृत्ति अन्य जिल्लामा पनि हुन सक्छ भन्ने कुरालाई ध्यानमा राखी त्यहाँ समय–समयमा अनुगमन गर्ने, सेवाग्राहीको काम सहज रुपमा गर्ने व्यवस्था मिलाउन आवश्यक छ ।
कर्मचारी अभावका कारणले सरकारी कार्यालहरुमा सेवा प्रवाहमा समस्या भईरहेको समाचार आउने गरेका छन् । यो अवस्थालाई मध्यनजर गरेर पनि कमजोरी सुधारमा चासो लिन आवश्यक छ ।