मुलुकका पाँच जिल्लामा हैजा फैलिसकेको छ । स्वास्थ्य मन्त्रालयको ईडीसीडी महाशाखाले मुलुकभर गरी ४७ जनामा हैजा संक्रमण पुष्टी भएको जनाएको छ । महाशाखाका अनुसार सबैभन्दा बढी ललितपुरमा ३४ जनामा हैजा देखिएको छ ।
यसैगरी कैलालीमा ८, काठमाण्डौंमा २, प्युठानमा २ तथा रुपन्देहीमा एक जनालाई हैजाको संक्रमण पुष्टी भएको बताईएको छ । यसपालिको वर्षायाममा हैजाको संक्रमण भेटिएको समाचार केही दिन पहिले नै आएको हो । वर्षायाम भएका कारण हैजा संक्रमणको जोखिम बढी रहने गरेका कारण यस्तो समयमा विशेष साबधानीको आवश्यकता रहन्छ । वर्षामा पानी दूषित हुने भएका कारण त्यसबाटै हैजा फैलिने जोखिम बढी रहने गर्दछ । त्यसैले दूषित पानी र खानेकुरा नखाने तथा सरसफाईमा विशेष ध्यान दिन सकियो भने हैजाको संक्रमणबाट जोगिन सघाउ पुग्नेछ । स्वास्थ्यकालागि बासी खानेकुरा उसै पनि घातक मानिन्छन् । तसर्थ ताजा खानेकुरा, शुद्ध पानीको प्रयोगबाट हैजाको जोखिम घटाउन सकिने हुनाले यस्ता कुरामा ध्यान दिनु पर्ने हुन्छ । विशेषतः सार्वजनिक धारा तथा सर्वसाधारणले प्रयोग गर्ने पानीको गुणस्तर कस्तो छ भन्ने कुराको जाँच गर्ने तथा पानी दूषित फेला परेमा त्यसको प्रयोग रोक्नकालागि सरकारी स्तरबाट पनि परीक्षण तथा अनुगमनको व्यवस्था मिलाउन आवश्यक रहन्छ । पानी शुद्ध गर्ने तरिकाका बारेमा जनस्तरमा जानकारी दिने र स्वास्थ्य सम्बन्धि सचेतनाका कुरा बताएर रोग लाग्नबाट जोगाउन सकिन्छ ।
वर्षायाम भरि नै पानी दूषित हुने र रोग फैलिने सम्भावना उच्च रहने भएका कारण यस प्रति हेलचेक््रयाइँ होईन विशेष साबधानी आवश्यक छ ।