• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा विरामीका लागि थप तीनवटा वार्ड सुचारु गरिने भएको छ । एनआईसीयु, आईसीयु र वर्न वार्ड सुचारका लागि तयारी थालिएको हो ।
यी तीनवटा वार्ड थप सुचारु गरिनाले विरामीको उपचारमा अझै सहजता आउने विश्वास त लिईएको छ । तर तिनको सञ्चालनका लागि कर्मचारीको अभाव यति बेला चुनौतिका रुपमा रहेको देखिन्छ । सेवा विस्तारका लागि पहिले नै उपकरण ल्याएर त राखिएको छ । तर सञ्चालनका लागि जनशक्ति नभएका कारण नै ती उपकरणहरु थन्किएर रहेका छन् । यस अस्पतालमा चिकित्सक र कर्मचारीको अभाव पहिले देखि नै रहँदै आएको हो । यही कारणले गर्दा विगतमा यस अस्पताललाई उपचार भन्दा पनि रेफर सेन्टरका रुपमा लिने गरिएको थियो । केही व र्ष अघि थप चिकित्सक र उपचारका लागि आवश्यक केही आधुनिक उपकरणहरुको व्यवस्था गरिएपछि उपचार सेवामा पनि सुधार आउन थालेको थियो । तर सरकार परिवर्तनसँगै मेडिकल सुपरिटेण्डेण्टको सरुवा गर्ने परिपाटी कायम भएपछि अस्पतालमा कार्यरत जनशक्तिका बीच नै गुटबन्दी झांगिनाका साथै समन्वयमा पनि कमी आउन थालेका कारण यसको असर उपचार सेवामाथि पर्दै गएको तीतो यथार्थका कारेमा स्वयम् अस्पतालमा उपचारका लागि आएका विरामीहरु नै भुक्त भोगी रहेका छन् । पछिल्लो चरणमा अस्पतालमा पुनः केही सुधारको प्रयास हुन थालेको छ, जसलाई सकारात्मक कार्य नै भन्नुपर्दछ । राजधानी बाहिरका धेरै जसो अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक अहिले पनि नरहेको अवस्था छ र राजविराजस्थित यो अस्पताल पनि त्यसबाट अछुतो छैन । तर उपलब्ध जनशक्तिलाई नै अधिकतम परिचालन गरी आएका विरामीहरुको सकेसम्म उपचार गरेर पठाउन सक्नु नै अस्पतालको सफलता हो ।
त्यसैले अहिले यस अस्पतालमा तीनवटा वार्ड थप गरेर उपचार सेवा विस्तारको जुन सुरसार गरिएको छ, यसलाई सुखद पक्ष त मानिन्छ नै । साथसाथै त्यसमा आवश्यक कर्मचारीको व्यवस्थाप्रति सरकारले पनि सहयोग गरिदिए काम अघि बढाउन अझै सहज हुनेछ ।