• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

गत मंगलबार सप्तरीको राजगढ गाउँपालिकामा समाचार संकलनमा पुगेका पत्रकारमाथि त्यहाँका गाउँपालिका प्रमुख खनिएका छन् । उनले पत्रकारको माईक खोस्नाका साथै केही समय प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पत्रकारलाई थन्ने दुष्कार्य समेत गरेका छन् ।
पत्रकार गाउँपालिकाको कार्यालयमा प्रबेश गर्नेबित्तिकै उनीहरुलाई बिरोधी मानसिकताले सोचेका रहेछन् भन्ने कुरा उनकै व्यवहारले उदांगिएको छ । पत्रकार आउनेबित्तिकै त्रसित मानसिकता राख्ने वा उनीहरुलाई सदैव बिरोधी चस्माले मात्र हेर्ने प्रबृत्तिले न स्थानीय तह(पालिका) को विकास हुने हो न त उनी प्रेसमैत्री नै कहलाउने हुन् । वाहुबलको प्रदर्शन गरी पत्रकारमाथि खनिनु भनेको निरंकुशताको परिचायक मान्नु पर्दछ । त्यसमाथि नेकपा(एमाले) बाट निर्वाचित गाउँपालिका अध्यक्षले त प्रेसमाथि बक्रदृष्टि राख्नु पर्ने कुनै कारणै थिएन होला । यसको कारणमा उक्त पार्टीका सुप्रिमो नै आफू स्वतन्त्र प्रेसको पक्षधर बताईरहने गरेका कारणले पनि गाउँपालिका अध्यक्षले यस्तो व्यवहार प्रदर्शन गर्नु नपर्ने हो । तथापि उनले यस प्रकारको हर्कत जो गरेका छन्,यसलाई कुनै पनि तर्कबाट उचित ठहर्याउन नसकिने त निश्चित नै छ । त्यसमाथि प्रेसलाई लखेटेर वा दमन गरेर कसैले आफूलाई विजयी ठान्दछ भने त्यो उसको फगत कोरा कल्पना मात्र हुने निश्चितै छ । आफूलाई जनताको पक्षधर ठान्नेले प्रेसप्रति तर्सिनु पर्ने कुनै कारणै रहँदैन ।
तसर्थ अहिले राजगढमा जुन प्रकारको प्रेसबिरोधी ताण्डव भएको छ,त्यसप्रति समस्त पत्रकारको ध्यानाकर्षण भएकै छ । दुव्र्यवहार गरिएका पत्रकारलाई न्याय दिलाउनकालागि पनि दोषीमाथि कारवाही जरुरी छ ।