शास्त्रीय संगीतका महान साधक एवम् लोकगायक गुरुदेव कामतको निधन भएको छ । विगत केही महिनादेखि मिर्गौला सम्बन्धि समस्याका कारण थलिएका कामत खर्च अभावले राजधानी काठमाण्डौंमा टिक्न नसकी पैतृक स्थल सिरहा फर्केका थिए । सिरहामा नै उनको निधन भयो ।
कामतले संगीतका क्षेत्रमा पु¥याएको योगदानका बारेमा सरकारमा रहेकाहरुलाई पनि जानकारी नरहेको होईन । राजधानीमै चार दसकभन्दा बढी समयदेखि संगीत साधना गर्दै आएका उनले धेरै शिष्यलाई यस बारे प्रशिक्षण दिएर योग्य बनाएका थिए । राजधानीमा उनका हजारौं शिष्य रहेको र तिनले कामतबाट स्थापना गरिएको गुरुकुलबाट संगीतको प्रशिक्षण लिने गरेका थिए । उनको उपचारमा आर्थिक अभाव रहेको कुरा राजधानी छाड्ने समयमा उनले लेखेको सन्देशबाट पनि बुझ्न सकिन्छ । यति ठूला साधकको उपचार खर्च अभावकै कारणले निधन हुनु अत्यन्त दुःखद् पक्ष हो । मुलुकमा यति बेला तीन तीनवटा सरकारको उपस्थिति छ । तर कसैले पनि गुरुदेवको अवस्थाका बारेमा जानकारी र चासो नराखेका कारण खर्च अभावका कारणले नै उनको सही उपचार हुन नसकेको र उनले मृत्युबरण गर्न बाध्य भएको वास्तविकतालाई नकार्न मिल्दैन । नेताहरु सामान्य विरामी पर्दा पनि राज्यकोषबाट खर्च गरेर विदेश गई उपचार गरेर फर्किन्छन् ।
तर यति ठूला साधक गम्भीर विरामी परेको र आफ्नो सामथ्र्यबाट उपचार गराउन नसक्ने अवस्था रहँदा पनि सरकारले एक वचन सोध्ने सम्म चेष्टा नगर्नु भनेको उनी प्रतिको उपेक्षा नै हो । योगदान पुर्याएका यस्ता साधकको संरक्षणमा राज्यपक्षले पनि सोचि दिनु पर्ने हुन्छ ।