न्यूज टुडे
राजविराज, १६ साउन ।
सप्तरीको रुपनी गाउँपालिकामा प्रमाण नै पेश नगरी करोडौं रकम झ्वाम पारेको खुलासा भएको छ । जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा कुनै प्रमाण तथा कागजात पेश नगरी करोडौं झ्वाम पारेको पाइएको हो ।
गाउँपालिकाले १ करोड ३८ लाख ९३ हजार रुपियाँ प्रमाण कागजात पेश नगरी मनपर्दी खर्च गरेको महालेखा परिक्षकको प्रतिबेदन २०७९/०८० मा उल्लेख छ ।
महालेखाको प्रतिबेदनमा प्रमाण पेश नभएका, पदाधिकारीहरुले दोहोरो सुविधा लिएका, पेश्की दिइएका तथा वेरुजु ठहर भएको सम्पुर्ण रकम असुल गर्न सुझाएको छ ।
महालेखा परिक्षकको प्रतिबेदन २०८१ अनुसार आव २०७९/०८० मात्र ३ करोड २७ लाख ३३ हजार वेरुजु देखिएको छ । सो मध्ये केही सम्परिक्षण गरिएको तथा अझै ५६ लाख ५७ रुपियाँ असुल गर्नुपर्ने रहेको छ ।
यसैगरी प्रमाण कागजात पेश गर्नुपर्ने १ करोड २६ लाख ८६ हजार र पेश्की बाँकी २ लाख १ हजार समेत रु ३ करोड २४ लाख ३७ हजार रहेको छ ।
रुपनी गाउँपालिकाको गतबार्षसम्म रु १४ करोड ७६ लाख ८ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु १८ करोड ४५ हजार रहेको महालेखाको प्रतिबेदन २०८१ मा उल्लेख गरिएको छ ।
प्रतिबेदन अनुसार रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले ऎनले तोकेको भन्दा सबैभन्दा बढी गाउँपालिकाबाट दोहोरो सुविधा लिएको तथा उनीसँग लाखौं बेरुजु असुलगर्नुपर्ने देखिन्छ ।
रुपनी गाउँपालिकाका भ्रष्टाचार विरोधी अभियानता राजु जयसवालले गाउँपालिकाले प्रमाण तथा कागजात नै पेश नगरी करोडौं खर्च गरेको महालेखाको प्रतिबेदनबाट गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी कति भ्रष्ट छ भने पुष्टि भएको बताए । उनले बेरितले गरिएको खर्च उनीहरुबाट असुल गरी आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिए ।
उनले आर्थिक अनियमिततामा संलग्न जनप्रतिनिधि र कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने समेत बताए ।