सप्तरीका कतिपय सहकारी संस्था धराशायी भएपनि सयौं वचतकर्ताको रकम समेत डुबेको छ । कतिपय सहकारीका सञ्चालक समेत फरार रहेपनि वचतकर्ताहरुले सकीनसकी गरेको वचत रकम फिर्ता नपाएका कारण उनीहरु विचल्लीमा परेका छन् ।
संस्था नै डुबेपछि वचत कर्ताको रकम पनि सँगसँगै डुबेको छ । यसको वावजुद पनि सञ्चालनमा रहेका कतिपय सहकारीले पनि वचतकर्ताको रकम फिर्ता दिईरहेका छैनन् । यसको पछिल्लो उदाहरण बनेको छ कञ्चनरुप नगरपालिका–४ कविलासा स्थत शुभलक्ष्मी वचत तथा ऋण सहकारी संस्था । उक्त संस्थाले दुई करोड वचत रकम फिर्ता नदिएको आरोप लगाउँदै वचतकर्ताका तर्फबाट प्रहरीमा उजुरी परेको छ । वचत गरेको रकम फिर्ता दिन आनाकानी गरेको भन्दै सहकारीका सञ्चालकहरु विरुद्ध त्यहाँका अभिकर्ताहरुले उजुरी दिएका छन् । संस्थाका सञ्चालक समितिका पदाधिकारीहरुले दुई करोड भन्दा बढी रकम अपचलन गरी फिर्ता नगरेको भन्दै सहकारी पीडितहरु दिनहुँ प्रहरी कार्यालय धाउने गरेका थिए । वचतकर्ताकै तर्फबाट अभिकर्ताले सञ्चालक समितिका पदाधिकारी विरुद्ध उजुरी दर्ता गरेका छन् । ठाउँ–ठाउँमा सहकारी संस्थाले वचत कर्ताहरुको रकम फिर्ता नगरेपछि अहिले यो देशब्यापी समस्या नै बन्न पुगेको छ । संस्थाहरुले यसरी वचतकर्तालाई विचल्ली पार्दै जाँदा पनि त्यसको नियन्त्रणका लागि सरकारले अहिले सम्म ठोस कदम नचालेको पीडितहरुको गुनासो छ ।
ठोस कदम नचालेको भन्ने कुरा सहकारी संस्थाहरुले वचतकर्ताको रकम फिर्ता नदिएको भनी पटक–पटक आउने समाचारबाट पनि पुष्टि मिल्दछ । यस्तै अवस्था रहन दिने हो भने आगामी दिनमा अन्य वचतकर्ताको पनि यस्तै हालत नहोला भन्न सकिन्न ।