नेपाली काँग्रेसलाई चार र लोकतान्त्रिक समाजवादी पार्टीलाई एक मन्त्रालय दिएर तिनमा बिहीबार मन्त्री नियुक्त गरेपछि मधेश प्रदेश सरकारले पूर्णता हासिल गरेको छ ।
केन्द्रमा भएको सत्ता समीकरणको प्रभाव मधेश प्रदेशको सरकारमाथि पनि परेपछि मन्त्रीपरिषद्मा फेरबदल आएको हो । विगतमा जनता समाजवादी पार्टी नेतृत्वले पहिलो पूर्ण कार्यकाल तथा दोस्रो कार्यकालको पनि केही वर्ष सरकार चलाएकोमा अहिले जनमत पार्टीको नेतृत्वमा मिलिजुली सरकार गठन भएको छ । सम्भावना प्रचुर रहदाँरहँदै पनि शिक्षा, स्वास्थ्य, रोजगारी लगायत हरेक दृष्टिकोणबाट पछाडि परेको मधेश प्रदेशमा समस्याका चाङ नै लागेका छन् भन्दा अन्यथा नहोला । ती समस्या समाधानका लागि विभिन्न बाँधा व्यवसधानलाई चिर्दै वर्तमान सरकारले काम गर्न सक्यो भने यसलाई अवश्य पनि सफलताको श्रेय जानेछ । सरकारको नेतृत्व पक्षले गरेको छ भन्दा पनि सरकारले के कस्ता काम गरेको छ भन्ने कुरा नै बढी जनचासोको विषय हो । विगतमा जनअपेक्षा भन्दा पनि सत्ता टिकाउने तिर नै राजनीतिक दलहरुले समय विताएका कारण जनताले खेप्नु परेका समस्याहरुको समाधान ठीक तवरले हुन नसकिरहेको अवस्था थियो । त्यसैले वर्तमान सरकारको सफलता वा असफलताको मूल्यांकन पनि यसले गर्ने कामकै आधारबाट हुने निश्चितै छ । जनताले भोग्नु परेका समस्यालाई अर्जुन दृष्टिमा लिएर तिनका सवालमा काम गर्नका लागि सरकारमा सहभागी सबै राजनीतिक दलहरुले उदार भावना साथ काम गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
सत्ताका सहभागी दलहरुलाई विश्वासमा लिँदै जनताका सवालमा काम गर्न सत्तामा नेतृत्व गरेको दलले समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढ्न सके सरकारप्रति जनताको विश्वास पनि गाढा भएर जानेमा आशंका नरहला ।