• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमल तालमा पहिरोले यात्रुबाहक बस बगाएको एक साता बितिसकेको छ । दुई यात्रुबाहक बसलाई असार २८ गते बिहान पहिरोले बगाएकोमा अहिलेसम्म दुवै बस फेला पार्न नसकिएको हो ।
बस तथा त्यसमा सवार यात्रु खोज्नका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार तथा नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीका तालिम प्राप्त सुरक्षाकर्मीले विभिन्न प्रविधिको प्रयोग गरेर बसको खोज तलास गरे पनि घटना भएको सात दिनमा पनि फेला पर्न नसक्नाले अन्यौलता छ । बसमा बेपत्ता भएकाहरुका आफन्तजन यति बेला दुर्घटनास्थलमा कैयौं दिनदेखि चिन्तामग्न भएर प्रतिक्षारत छन् । बस दुर्घटनामा परेका आफन्तको अवस्था बुझन बसेकाहरु मध्ये बसमा सवार केही व्यक्तिको शव फेला परेको भएपनि अधिकांश अहिलेसम्म वेपत्ता नै छन् । खोजी कार्यमा एक सातादेखि लाग्दा पनि उद्धार टोलीले बस पत्ता लगाउन नसकेपछि अब त्यसमा अझै प्रभावकारी उपायबाट खोजीमा जुट्नुपर्ने आवश्यकता छ । यसका लागि सरकारी स्तरबाटै पहल थाल्नु पर्ने एक मात्र विकल्प हो भन्दा अन्यथा नहोला । वर्षायाम अझै लामो समय चल्ने भएका कारणले पनि पहिरोमा बगेको बसमा सवारका आफन्तजनले अझै कति दिन सम्म कष्टसाध्य प्रतीक्षा गर्नु पर्ने हो यस्सै भन्न सकिने अवस्था छैन ।
खोजी कार्य अझै प्रभावकारी बनाएर बस तथा वेपत्ता भएका व्यक्तिहरु पत्ता लगाउनेतिर गम्भीरताका साथ लाग्नु पर्ने आवश्यकता भएकोले सरकारी संयन्त्रका साथै खोजीमा दखल भएका थप उद्धार टोली परिचालनको आवश्यकता छ ।