नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले राजविराज नगरपालिकाले नगरमा जडानका लागि खरिद गरेको सिसि क्यामेरा लगायत अन्य जल्दाबल्दा विषयमा प्रश्न उठाउनाका साथै स्थानीय तहमा सुशासनको आवरणमा हुने गरेको ‘कुशासन’ को भण्डाफोर र प्रतिरोधका निम्ति आग्रह गरेका छन् ।
समाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले टेण्डरमार्फत खरिद गर्नुपर्ने सिसि क्यामेरा उपभोक्ता समिति मार्फत किन खरिद गरेको भन्ने प्रश्न जसरी उठान गरेका छन्, यसले उक्त कार्यमा प्रकृया मिचिएको छ भन्ने संकेत गर्दछ । पूर्व मन्त्रीले उठान गरेको यस विषयप्रति नगरपालिकाले आफ्नो धारणा सार्वजनिक गर्ला नै । देशकै पुराना नगरमध्येको राजविराज जिल्लाको सदरमुकाम पनि हो । बैज्ञानिक शहरी योजनाका रुपमा बसाईएको यस नगरका आफ्ना मौलिक विशेषता पनि छन् । हरेक अधिकार प्राप्तीको आन्दोलनमा अग्र मोर्चामा रहने राजविराजले आवाज बुलन्द गरेको छ । चेतनशील नागरिकको बसोबास स्थलका रुपमा यसको पहिचान छ । तर पनि विकासमा यो नगर पछि छ । नगरपालिकाले वर्षेनी यस नगरका लागि विभिन्न योजना तथा कार्यक्रममा ठूलो बजेट खर्च गर्दै आएको छ । तर पनि यहाँका समस्या अझै बग्रेल्ती संख्यामा देखा परी नै रहेका छन् । सरसफाईको अवस्था अहिले पनि सन्तोषजनक नरहेको नगरवासीकै गुनासो छ । नगरका कतिपय वडाको अवस्था हेर्दा अहिले पनि अनेकन समस्या सहजै देख्न सकिन्छ । नगरको विकासमा आर्थिक अनुशासन र पारदर्शिताको पनि ठूलो हात रहन्छ ।
तसर्थ विकासका नाममा गरिने खर्चका बारेमा नगरवासीले जानकारी पाउन आवश्यक छ । पूर्व मन्त्रीले उठान गरेको सवालका बारेमा नगरपालिकाले प्रष्टायाउन आवश्यक त छ नै । प्रश्न उठिसके पछि तत्सम्बन्धि जिज्ञासा प्रष्ट नपार्ने हो भने अन्य आशंका पनि उठन सक्ने छन् ।