चितवनमा शुक्रबार विहानी पख दुई यात्रुवाहक रात्री सेवाका वस पहिरोमा परेका छन् । सोही दिन अर्को यात्रुवाहक बसमाथि पहिरोको ढुंगा खस्दा चालकको मृत्यु भएको छ ।
वर्षायाममा नारायणगढ मुग्लिन सडक खण्डमा बढी दुर्घटना हुने गरेका छन् । पहाडी बाटो रहनाका साथै बाढी पहिरोको जोखिम उच्च रहेका कारण यस सडक खण्डमा विशेष सुरक्षा व्यवस्था रहन आवश्यक छ भन्ने कुरा यस अघि नै बोध भईसकेको विषय हो । वर्षा याममा अन्यत्र पनि सडक दुर्घटना बढी हुने गरेका छन् । तर सरकारले सुरक्षाका बारेमा नसोचेका कारण यात्रुको अकालमै ज्यान जाने अवस्थामा सुधार आउन सकेको छैन । वर्षा याममा हरेक जसो वर्ष व्यापक जनधनको क्षति हुँदै आएको छ । त्यसमा सडक दुर्घटनाको तथ्यांक पनि उच्च रहने गरेको छ । जनताको सुरक्षाका सबालमा प्रभावकारी तबरले काम गर्नु भन्दा पनि दुर्घटना भएपछि मात्र राहत तथा उद्धारमा खट्ने हाम्रो विगतको परम्परा अहिले पनि यत्तिकैमा सिमित रहेको अवस्था छ । तसर्थ पटक पटक हुने यस्ता दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने तर्फ नसोच्ने हो भने भविष्यमा पनि यो क्रम रहिरहनेमा आशंका नगरे हुन्छ ।
सरकारले दुर्घटना भएपछि मात्र उध्दारका उपाय अपनाउने अनि अरु समय सडक सुरक्षाका बारेमा नसोच्ने हो भने नेपालका सडक यातायातको अवस्थामा कसरी सुधार आउन सक्ला ? तसर्थ वर्षा लागेपछि बढ्ने यस्ता दुर्घटना रोक्न पहिलेदेखि नै काम थालनी गर्नु उत्तम हुनेछ ।