• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

यस वर्ष आँपको उत्पादन राम्रो भए पनि किसानले उचित मूल्य पाउन सकेनन् । उत्पादन बढे पनि उचित मूल्य नपाएका कारण किसानको मुहारमा खुशीको साटो निराशा देखिन थालेको छ ।
निराशा नहोस् पनि कसरी,जव कौडीको मूल्यमा उत्पादन बेच्नु परिरहेको छ । सरकारले किसानको उत्पादनलाई उचित मूल्य दिलाउन नसकेका कारणले पनि किसानमा निराशा बढेको हो । जन सकिनसकी गरेको उत्पादनको उचित मूल्य नै नपाउने अवस्था रहन्छ भने कुन किसानमा उत्साह जाग्ला ? कृषि कर्म भनेको फगत मुनाफा कमाउनकालागि मात्र नभई एक प्रकारको पवित्र कार्य पनि हो । किसानकै उत्पादनले सबैको पेट पालिन्छ भने यसलाई किन पवित्र कर्म नभन्ने ? हो,किसानको यही पवित्र कर्मको उचित मूल्यांकनकालागि पनि उनीहरुको मिहिनेत र लगानीको सही प्रतिफल पाउन सक्ने अवस्था रहनु पर्दछ । अहिलेको सिजनल उत्पादन भनेको किसानकालागि आँप नै हो । आँप बिक्री गर्ने अनि धान रोपाइँंमा जुट्ने समय भएका कारण किसानको यति बेला व्यस्तता निकै नै बढेको छ । आँपबाट प्राप्त आम्दानीलाई धान रोपाइँमा लगाउन पनि कतिपय किसानलाई सहज हुन सक्ला ।
कृषि नै जीवीकोपार्जनको मुख्य आधार रहेका किसानलाई सिजन अनुसारको उत्पादनबाट उचित मूल्य पाउने अवस्था रहेमा मात्र उनीहरु समय अनुसारको बाली लगाउन उत्साहित हुन सक्दछन् । कुरा आँपको मात्र होईन,किसानले गरेको सबै उत्पादनमा उचित प्रतिफल पाउने अवस्था रहोस् भन्नाकालागि सरकारले पनि आफ्नो तर्फबाट प्रयास गर्न जरुरी छ ।