• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको प्रसिद्ध धार्मिक स्थल छिन्नमस्तासम्म जाने सडक भत्केर खाल्डै खाल्डा बन्दा पनि त्यसको अवस्था सुधारका लागि समयमा ध्यान नदिँदा यात्रुलाई सास्ती हुने गरेको कुरा नौलो होईन । अहिले सडक स्तरोन्नतिको काम चालु रहेतापनि ठेकेदारको विलम्वका कारण सडक लथालिंग अस्थामा छ । केही खण्ड पिच भईसक्दा पनि आधा भन्दा बढी भाग खनेर छाडिदिनाले वर्षामा यात्रा गर्न साह्रै नै कष्टपूर्ण अवस्था रहेको उक्त सडकबाट यात्रा गर्ने जोसुकैले महसुस गर्न सक्दछन् । छिन्नमस्ताकै पश्चिमतर्फ रहेको मोहनपुर सडक खण्ड अहिले वर्षायाममा धान रोप्नका लागि हिल्याएर तयार पारिएको खेतजस्तो भएको छ ।
छिन्नमस्ता बजार भएरै जानुपर्ने मोहनपुर सडकको अवस्था विगतदेखि नै दयनीय रही आएका कारणले त्यस भेगका जनतालाई अहिले पनि आवागमनमा ठूलै समस्या खेप्नु परिरहेको छ । छिन्नमस्ता गाउँपालिका अन्तर्गतकै उक्त सडकको अवस्था सुधारका लागि केन्द्र, प्रदेश तथा स्थानीय सरकार कसैको पनि ध्यान नपुग्दा जनतालाई ठूलो सकस छ । जरुरी काम लिएर छिन्नमस्ता गाउँपालिका कार्यालय, सदरमुकाम राजविराजसम्म पुग्न हिलाम्य सडकका कारणले घण्टौं लाग्ने गरेको छ । गाउँपालिकाले पनि वर्षेनी करोडौं करोडको बजेट चलाउँछ । तर मोहनपुरबासीको समस्यालाई दृष्टिगत गरेर सडक स्तरोन्नतितर्फ ध्यान नपुग्दा जनताले विकासको प्रत्याभूति समेत पाउन नसकिरहेको अवस्था छ ।
विकासको पूर्वाधार वा मेरुदण्डकै रुपमा यातायातको सुविधालाई लिने गरिन्छ । वर्षायाम भरि आवागमनै गर्न नसकिने अवस्थामा पुगेको उक्त सडक खण्डको अवस्थामा सुधार नल्याउने हो भने मोहनपुरबासीका लागि जिल्लाको सदरमुकाम सम्म पुग्नका लागि पनि महाभारत नै हुने कुरा निर्विवाद हुने छ ।