स्थानीय तहहरुमाथि आफ्ना क्षेत्रभित्रका विद्यालयहरुलाई हेर्ने जिम्मेवारी समेत दिईएको छ । यसको अलावा स्वास्थ्य, कृषि, पशुपालन लगायतका क्षेत्रलाई पनि स्थानीय तहहरुले नै हेर्ने गरेका छन् ।
जहाँसम्म शिक्षाको सवाल छ, यसभित्र विद्यालयहरुको पठनपाठन कसरी चल्दैछ, भौतिक सामग्री र शिक्षकको कमी छ, छैन भन्ने सवालमा समेत स्थानीय तहहरुले हेर्ने र अभाव भएका कुराको व्यवस्थापन गरी विद्यालयलाई नियमित सञ्चालन गर्ने वातावरण तयार गर्न स्थानीय तहहरु माथि नै जिम्मेवारी छ । यस परिप्रेक्षमा विद्यालयमा विद्यार्थी संख्या, ड्रप आउन (विद्यार्थीले विद्यालय छाड्ने) को अवस्था लगायत अन्य आवश्यक अभिलेख राखेर शैक्षिक स्तर उकास्नमा स्थानीय तहहरुमाथि गहन जिम्मेवारी दिईएको छ । बाटोघाटो, कुलो पैनी, भवन निर्माण जस्ता कुरालाई मात्र विकासका रुपमा लिएर पुग्दैन । शिक्षाको स्तर उकास्नुलाई पनि विकासको महत्वपूर्ण कडी मान्नु पर्दछ । हालै प्रकाशित एसईई परक्षिामा कति विद्यार्थी उत्तीर्ण भए? भनी कञ्चनरुप नगरपालिका (सप्तरी) सित जानकारी माग्न जाँदा अभिलेखै नरहेको भनी जवाफ दिइएको छ । यसको जानकारीका लागि नगरपालिका भित्रका सबै माध्यमिक विद्यालयसित सम्पर्क गरी एसईई सफल र असफल भएकाहरुको समाचार केही दिन पूर्व प्रकाशित गरिएको छ ।
पालिकामा शिक्षा क्षेत्र हेर्ने छुट्टै इकाई राखिएको पनि छ । तर एसईई परीक्षामा उत्तीर्ण भएकाहरुको अभिलेख सम्म राख्न सकिएको छैन यदि भने उक्त पालिकाको शिक्षाको स्तर कसरी उकासिएला?