राजविराज रुपनी सडक खण्डको अवस्था यति बेला अस्तव्यस्त बनेको छ । स्तरोन्नतिको काम गर्ने भनिएपनि सडक सुचारु अवस्थामा रहने गरी व्यवस्था मिलाउने तर्फ ध्यान नदिईएका कारण यो व्यस्त सडकको अवस्था अस्तव्यस्त पुगेको हो ।
सडक स्तरोन्नतिको काम एक त ढिलो भईरहेको भन्दै आलोचना गर्न थालेको छ । त्यसमाथि फराकिलो बनाउने भन्दै सडकका दुवै छेउमा चौडा तुल्याउने कामका साथसाथै सडकको पानी निकासीको व्यवस्था तर्फ नसोचिएका कारण यस सडकको मलेठ खण्डमा सवारी साधन चल्नमा पनि सकस भईरहेको छ । एक त गहिरो सडक खण्ड त्यसमाथि खाल्डाखुल्डी र पानी जमेका कारण दुर्घटनाको जोखिम बढेको छ । कति पटक त्यहाँ दुर्घटना समेत भईसक्दा पनि सम्बन्धित निकायले सडकको अवस्था सुधार्ने तर्फ चासो नलिँदा कहिलेसम्म जोखिम मोलेर मात्र गर्नुपर्ने हो भन्न सकिने अवस्था छैन । वर्षायाम सुरु भईसकेको छ । वर्षाको पानी सडकमै जाने गरेका कारण सडकको अवस्था अझै बिग्रेर जाने निश्चित छ । पानी जमेको ठाउँमा तत्कालका लागि मर्मत सम्भार गरी वर्षाभरि सवारी साधन चल्ने लायक तुल्याउन अत्यावश्यक छ ।
यस कुरामा चासो लिएर सर्वसाधारणले व्यहोर्नु परिरहेको सास्ती कम गर्ने तर्फ चासो लिन जरुरी छ । मलेठ सडक खण्डमा गत वर्षामा पनि अवस्था लथालिंग नै थियो । यस पटक पनि समस्याप्रति उदासीनता नै देखाउने हो भने त्यसलाई कुनै पनि दृष्टिले उचित मान्न सकिने छैन ।