आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय–पत्र अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीमा सेवाग्राहीको अत्यधिक चाप बढेको छ ।
एकाबिहानै कार्यालय अगाडिको सडकमा गाउँ–गाउँबाट आएका वृद्धवृद्धा लाईन लाग्न थालेपछि भिड नियन्त्रण गर्न प्रहरी नै खटाउनु परेको छ । कार्यालयको मूलढोका खुल्ना साथ ठेलमेल गरेर एकतृत भिड कार्यालय परिसरभित्र छिर्न थाल्दा प्रहरीसितको रस्साकस्सीमा भिडका कतिपय वृद्धवृद्धा त्यही ढल्ने गरेका छन् । झट्ट हेर्दा उक्त दृष्यमा वलिया बाङ्गा छिर्न पाउने तर कमजोरले घण्टौं लाईन बस्दा पनि छिर्न नपाएर निराश भई फर्कनु पर्ने अवस्था रहेको सहजै अनुमान गर्न सकिन्छ । हजारौंको संख्यामा दैनिक परिचय–पत्र बनाउन आउने सेवाग्राही मध्ये दिनमा एक डेढ सय सम्मको काम हुने भएपनि बाँकीले त्यसै फर्किनु पर्ने अवस्था रहेका कारण परिचय–पत्र वितरणमा टोकन प्रणाली लागु गरेर वा अन्य स्थानबाट पनि राष्ट्रिय परिचय–पत्रका लागि फोटो खिच्ने, फारम भर्ने व्यवस्था मिलाउनु पर्ने अवस्था छ ।
जिल्ला भरिका सेवाग्राहीलाई टण्टलापुर घाममा एकै स्थलमा भिड लगाएर मात्र काम हुन सक्ने अवस्था नरहेको र सेवा भन्दा पनि सास्ती पाउने अवस्था रहेका कारण यो काम सहजताका साथ कसरी गर्न सकिन्छ भन्ने तर्फ आवश्यक व्यवस्था मिलाउन जरुरी छ ।