स्थानीय तह देखि सरकारी कार्यालयहरुमा अहिले भुक्तानी लिन आउनेहरुको ओईरो लागेको देखिन्छ ।
चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने काम सकाएर भुक्तानी नलिए बजेट ल्याप्स हुने भन्दै त्यसका लागि दौडधुप बढेको हो । यसरी भुक्तानी लिनका लागि आउने मध्ये विकास निर्माणका काम गर्नेहरुको संख्या बढी रहने गरेको छ । तर तत्कालै काम नभएका कारण अत्यधिक भिडभाड रहने भएका कारणले कार्यालय नै अस्तव्यस्त देखिन थालेको कुरा सबैले महशुस गरेकै विषय हो । प्रकृया पूरा गरेर आएकाहरुको काम तत्कालै गरेर पठाई दिने परिपाटी कायम गर्न सकेको भए यस प्रकारको अनावश्यक भिडभाड नहुने र कार्यालय सञ्चालन पनि सहज तरिकाले हुन सक्ने कुरा अकाट्य छ । तर भुक्तानी दिन नमिल्ने विषयमा पनि त्यसका लागि अनावश्यक दवाव दिने अनि दिन मिल्नेलाई पनि झुलाएर राखीरहने प्रवृत्तिका कारणले यस प्रकारको चाप र भिडभाड उत्पन्न भएको हो भन्ने कुरा सहजै बुझ्न सकिने विषय हो ।
तसर्थ गर्न मिल्ने काम तत्कालै गरेर पठाई दिने र नमिल्ने कुराको विषयमा स्पष्ट जवाफ दिएर पठाउने परिपाटी कायम गरी सहज तरिकाबाट कार्यालय सञ्चालनको व्यवस्था मिलाउने तर्फ ध्यान दिन आवश्यक छ ।