• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजका जनप्रतिनिधिको तानाशाही प्रवृत्ति भयो :  स्थानीयबासी

राजविराजका जनप्रतिनिधिको तानाशाही प्रवृत्ति भयो :  स्थानीयबासी
न्यूज टुडे
राजविराज, ०४ असार । 
राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविन र वडा नम्बर ८ का वडा अध्यक्ष एवम् नगर प्रबक्ता जयनारायण मण्डलको तानाशाही प्रवृत्तिले आफुहरु मारमा परेको राजविराज ३ बासीले बताएका छन् ।  राजविराजमा मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यबाहक मेयर परविन र प्रबक्ता मण्डलको व्यक्तिगत स्वार्थपुर्तिका लागि अतिक्रमण हटाउने नाममा आफुहरुको व्यक्तिगत सम्पत्तिमाथि क्षति पुर्‍याएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका हुन् । 
पत्रकार सम्मेलनमा बोल्दै मो. मुरजाइतले स्थानीयबासीसंग छलफल नै नगरी प्रतिशोधको भावना र स्वार्थसिद्धका लागि आफुहरुको निजि सम्पत्ति क्षति गरेको आरोप लगाए । 
“राजविराज नगरपालिकाले अतिक्रम हटाउने नाउँमा कन्चपुर रोडको दक्षिणतर्फको व्यक्तिगत घरहरू २०८० भदौमा तोडफोड गरियो”, उनले भने, “दुई दिन अगाडि घरमा चिन्ह लगाएर नगरपालिका आफैंले नक्सा पास गरी बनाएको घर भत्काइयो, सडक विचभागबाट बराबरी नलिई वडा नम्बर ३ तर्फ सडक छेउदेखि १० मिटर दक्षिण नाप लिएर आफुहरुको निजि सम्पत्ति नास गर्ने काम भयो । “
यो सडकको अतिक्रमण हटाउनु होला भन्ने सूचना निकाल्दै नियत खोट छ भन्ने कुरा त्यसैबाट पुष्टि भएको बताउंँदै उनले सूचना निकाल्दा सडकको विचभागबाट दुबै तर्फको अतिक्रम हटाउन सूचनामा उल्लेख नगरिदा  मेयर परविन र प्रबक्ता मण्डलले योजनाबद्व तरिकाले आफुहरुलाई दुख दिने नियत देखिएको बताए । 
वडा नम्बर ८ का वडा अध्यक्ष समेत रहेको नगर प्रबक्ता मण्डलले आफ्नो वडातर्फको सडक अतिक्रम गरी बनाइएको संरचना जोगाउने मनसायले आफुहरुको निजि सम्पत्तिमाथि हस्तक्षेप गर्न खोजोको स्थानीयले आरोप लगाएका छन् । 
वडा नम्बर ३ का वडा अध्यक्ष अनिल कुमार दासले असहमति जनाउंँदा-जनाउँदै बल प्रयोग गरी कार्यबाहक मेयर परविन र प्रबक्ता मण्डलले तानाशाही शैलीमा आफुहरुको घरमा डोजर चलाएर  क्षति पुर्‍यएको स्थानीय  बच्चु मण्डलले बताए । 
उनले घरमा भएको कुनै पनि सामान निकाल्न नदिई निर्मम तरीकाले डोजर चलाउंँदा ५० भन्दाबढी घरमा करोडौं क्षति भएको जानकारी दिए । उनले इन्द्र नारायण साह, नुर बेगम,जगत भन्साली लगायतका दर्जनौं नक्सा पास गरी बनाएको घर समेतमा नगरपालिकाले डोजर चलाएको बताए । 
सडकको विचबाट दुबैतर्फ बराबरी दुरी कायम गरी सडक निर्माणको कार्यलाई अविलम्ब अगाडि बढाउन स्थानीयले माग गरे । 
पत्रकार सम्मेलनमा सहभागी कंचनपुर- राजविराज हुलाकी सडक योजनाको निर्माण कम्पनी बज्र ग्रुपका प्रतिनिधि कुश उपाध्यायले राजविराज नगर क्षेत्र भित्र सिमा विवादको कारण काम गर्न ढिलो भएको बताए । 
विवाद रहित क्षेत्रमा सडक निर्माणको काम पूरा भइसकेको जानकारी दिदै उनले पम्प नहरदेखी हनुमानमन्दिर सम्मको सडकमा निर्माण कार्यको विवाद समाधान गरी काम गर्ने बाताबरण मिलाई दिन आग्रह गरे । 
५ बर्षदेखि प्रारम्भ गरिएको सडक निर्माण कार्य स्थानीयको अवरोधकै कारण ढिलो भएको उनले बताए ।  उनका अनुसार सडक निर्माण कार्यको ठेक्का अवधि आगामी २०८१ फागुन महिनासम्म मात्र छ ।