मुलुकमा भएका ठूला–ठूला परिवर्तनदेखि विभेद तथा असमानताका विरुद्धमा सप्तरीले सदैव विगुल फुक्दै आएको कुराप्रति इतिहास साक्षी छ ।
यस क्रममा सप्तरीका कतिपय सपुतको जीवन समेत उत्सर्ग भईसकेको छ । मुलुक र जनताका लागि आन्दोलनको अभियानमा सदैव जुटने गरेको सप्तरी अहिले आफ्नै पछौटेपनको शिकार बन्ने गरेको छ । क्रान्तिभूमिका रुपमा आफ्नो पर्याय बनाईसकेको यस जिल्लामा भएका पूर्वाधारको समेत समूचित सदुपयोग हुन नसकिरहेको तीतो यथार्थ छ । पञ्चायतकालमै स्थापना भएको यहाँको औद्योगिक क्षेत्रको धुकधुकी मात्र बाँकी छ । औद्योगिक सेड निर्माण भएपनि स्थापना भएका उद्योगधन्दा फस्टाउन सकेको छैनन् । एकताका शिक्षाको ज्जोती नै बालेको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको अवस्था खस्कँदो छ । पुरानो भएर पनि यहाँको गजेन्द्रनारायण सिंह अस्पतालको उपचार सेवा उकासिन नसक्दा ‘रेफरल सेण्टर’ का रुपमा कहलिन थालेको छ । सरकार परिवर्तन पिच्छे मेडिकल सुपरिटेण्डेण्ट बदल्ने गरेका कारण अस्पतालमा उपचार भन्दा पनि राजनीतिक दाउपेच बढ्दो छ । अस्पतालको सुधार गर्ने मेडिकल सुपरिटेण्डेण्टलाई टिक्नै नदिने षड्यन्त्र दीर्घरोगका रुपमा रहेका कारण अस्पताल त्यसले आफै गाँजिन पुगेको छ । देशको सबै भन्दा पुरानो चन्द्रनहर छ । तर मर्मत सम्भार अभावले गर्दा कमाण्ड क्षेत्र भरि सिचाई हुन नसक्दा किसानको बेहाल छ । तैपनि समय–समयमा सप्तरीको विकासका बारेमा छलफल चलाएर सरोकारवालाहरुको ध्यानाकर्षण त गरिँदै आएको छ । अधिकार प्राप्तीको आन्दोलनमा जारी अग्रपंक्तिमा रहेर यहाँका जनता होमिएका छन्, त्यस्तो गौरवपूर्ण विगतलाई स्मरण गर्दै सप्तरीको पछौटेपनका विरुद्ध पनि एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता छ ।
आफ्नो जिल्लाको विकासका लागि आफैले अग्रसरता लिनु नै सर्वोत्तम प्रयास मानिन्छ । विकास बाधक सबै प्रकारका विकृति, विसंगतिका विरुद्ध उभिन सक्दा मात्र सप्तरीको मुहार फेरिने छ ।