विश्वभरि नै अहिले बढ्दो तापक्रम तथा जलवायु परिवर्तनका बारेमा चिन्ता व्यक्त गरिँदै छ । नेपालमा पनि यसको प्रभाव नपरेको होईन ।
बातावरणको बढ्दो विनाशका कारण यसले अनेक प्रकारका समस्या निम्त्याईरहेको छ । कतै अतिबृष्टि कतै अनाबृष्टिले गर्दा मानव लगायतका जीवमाथि नै संकट ल्याएको छ । जलवायु परिवर्तनका कारणले कृषिदेखि मानव स्वास्थ्य समेत प्रभावित हुने अवस्था आएको छ । यही कारणले कतिपय जीवजन्तु लोप हुने अवस्थामा पुगेका छन् । तापक्रममा बृध्दि हुँदै गएका कारण हिमालमा हिउँको अभाव देखिन थालेको छ । बातावरणमा गरिएको विनाश तथा कार्वन उत्सर्जनमा भएको बृध्दिले तापक्रममा बृद्धि आएको प्रष्टै छ । वनजंगल तथा चुरे विनाशका कारण नेपालमा पनि संकटका लक्षणहरु देखा पर्न थालिसकेका छन् । चुरे दोहनका कारणले तराई मधेशका कतिपय जिल्लामा पानीको अभाव देखिन थालिसकेको छ । पानीको सतह तलतल जान थालेका कारण भूमिगत जलस्रोतको धनी मानिएका तराईका जिल्लामा अव पानीको अभाव देखिएको हो । यही संकटबाट पार पाउन सरकारको ध्यानाकर्षणकालागि तराई मधेशका जनता पानी माग्दै काठमाण्डौं पुगेर प्रदर्शनमा उत्रिएका छन् । नदीनालामा पानीको सतह घट्दै गएको तथा पानीको स्रोतका रुपमा रहेको हिमाल कालो देखिन थालेका कारण भविष्यमा पानीको अझै संकट उत्पन्न हुने लक्षण अहिले नै देखिईसकेका छन् । अवस्था यहाँसम्म पुग्दा पनि सतर्कता अपनाउनेतिर लागिएन भने भविष्यमा अझै ठूलो संकट आउने निश्चित नै छ ।
अतः प्रदूषण नियन्त्रण,बातावरणको संरक्षण, चुरेको दोहनमाथि रोक लगाउने, हरियाली बढाउने जस्ता काममा अहिलेदेखि नै लाग्नु पर्ने समय आएको छ ।