चालु आर्थिक वर्ष समाप्तिको चरणमा छ । नयाँ आर्थिक वर्षमा नयाँ नयाँ योजना निर्माणमा स्थानीय तहहरु पनि लागेका छन् ।
यसरी योजना छनौट गर्दा त्यसको लागत र आफ्नो क्षमताका बारेमा समेत तुलना गरिनु स्वाभाविकै पनि हो । स्थानीय तहहरुले विगतमा सञ्चालन गरेका धेरै योजनाहरु अहिले पनि अधुरै छन् । तिनलाई पूरा गर्ने तिर ध्यान दिनु भन्दा पनि नयाँ योजना छनौटमा बढी चासो रहने गरेका कारण अधुरा योजनामाथि भएको लगानी पनि निरर्थक झै बनेको छ । योजना छनौट गर्दा सकेसम्म तिनलाई कसरी सम्पन्न गर्न सकिन्छ, कति लागत लाग्दछ भन्ने कुराको पूर्वानुमान गरेर मात्र हात हाल्नु, उत्तम पनि हो । पहिले सुरु भएपनि पूरा हुन नसकेका योजनालाई पूर्णता दिने विषयमा ध्यान दिन सकिए त्यसमा अपुग रकम मात्र लगानी गर्दा नै काम सम्पन्न हुन सक्छ । यसका साथै अहिले सम्म गरिएको लगानीको पनि उपयोगिता हुने भएकाले त्यसलाई उपलब्धि पूर्ण नै मान्नु पर्दछ । पहिलेदेखि सुरु भएर पनि पूरा नभएका योजनालाई पूरा गर्नु पनि एक प्रकारको उपलब्धि नै भएका कारण यस तर्फ पनि चासो लिनुपर्ने हुन्छ ।
अरुको कार्यकालमा सुरु भएका योजनालाई अघि बढाउने हुन्न भन्ने संकीर्णता त्यागेर काम गर्न सकियो भने यसबाट जनतालाई पनि विकासको अनुभूति मिल्नेछ । एउटाले सुरु गरेको योजनालाई अर्काको कार्यकालमा पूरा गर्न सकियो भने यसले सकारात्मक सन्देश नै दिने कुरामा आशंका रहने छैन ।