• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

तराईका जिल्लाहरुमा यति बेला गर्मी ह्वातै बढेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म तराईमा अत्यधिक गर्मीको सम्भावना रहने भन्दै सर्तकता अपनाउनका लागि अनुरोध गरेको छ ।
गर्मी अत्यधिक बढेपछि ‘लु’ लाग्ने जोखिम पनि बढी रहन्छ । वायुमण्डल वा वातावरणमा तातो बढेर त्यसका कारणले मानव शरीरमा देखिने असामान्य अवस्था नै ‘लु’ हो । तापक्रम धेरै बढेर शक्तिको नून र पानीको मात्रा घट्ने, टाउको दुख्ने, रिंगटा लाग्ने लगायतका लक्षणहरु ‘लु’ मा देखिने चिकित्सकहरुको भनाई छ । गर्मी अत्यधिक भए ‘लु’ का कारण मानिस कोमामा समेत जान सक्ने उनीहरु बताउँछन् । अत्यधिक गर्मी र तातो हावा चल्दा बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगका विरामी बढी प्रभावित रहने भएका कारण यसबाट उनीहरुलाई सुरक्षित राख्नका लागि विशेष सावधानीको आवश्यकता छ । घाममा बाहिर ननिस्कने, छहारीमा बस्ने, बढी मात्रामा पानी पिउने गर्नाले ‘लु’ बाट बच्न सकिन्छ भनि चिकित्सकहरुले सुझाएका छन् । घाममै पनि जरुरी कामले बाहिर निस्कने परे छाता लिएर निस्कने बानी बसाल्नु उत्तम हो । गर्मी अत्यधिक रहँदा पनि तराई मधेशका अधिकांश जिल्लाका विद्यालयहरुमा पठनपाठन चलि नै रहेको छ । विहानको समयमा कक्षा सञ्चालन गरिने भए पनि दिउँसो ११ः३० वा १२ बजेसम्म नै कक्षा चल्ने गरेका छन् । गर्मी अत्यधिक रहुञ्जेलसम्म केही दिनका लागि भएपनि पढाई छोट्याएर एक–दुई घण्टा अगावै छुट्टी दिने व्यवस्था भयो भने पनि विद्यार्थीलाई दिउँसोको प्रचण्ड गर्मीबाट केही न केही राहत मिल्नेछ ।
मौसममा सुधार आएपछि अतिरिक्त समय थपेर भए पनि पढाई पूरा गर्ने विकल्पका बारे सोचेर भएपनि उग्र गर्मीबाट जोगाउनेतिर लाग्नु नै सान्दर्भिक हुनेछ ।