मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिषकुमार सिंहले प्रदेशमा व्याप्त भ्रष्टाचारलाई प्राथमिकताका साथ नियन्त्रण गरिने भनि प्रतिबध्दता जनाएका छन् ।
उनले विगतमा संस्थागत रुपमा भ्रष्टाचार रहेको भन्दै त्यसका बिरुद्ध अभियानका रुपमा नै लाग्न आवश्यक रहेका कारण भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्न लागिएको बताएका हुन् । जनमत पार्टीबाट मुख्यमन्त्री वनेका सिंहले कृषिको विकास स्वरुप प्रदेश भित्रका एक सय ३६ वटै स्थानीय तहमा एक एक वटा कृषिसम्बन्धि नमूना कार्यक्रम ल्याउने समेत जनाएका छन् । हो,विगतमा यही पार्टीले प्रदेशमा बढ्दो भ्रष्टाचारका बिरुद्ध पटक पटक आन्दोलन समेत गरेकै हो । भ्रष्टाचार बढेकै कारणले जनताले विकासको प्रतिफल पाउन नसकेको भन्दै पार्टीले सञ्चालन गरेको कार्यक्रममा जनमतका कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता देखिन्थ्यो । यसै गरी किसानका समस्यासित जोडिएका विषयको उठान गरी जनमतले प्रदेशका ठाउँ–ठाउँमा आन्दोलन र सडक जाम समेत गरेको कुरा अहिले पनि जनताको मानसपटलमा तरोताजा नै छ । अहिले पार्टी आफैं सरकारको नेतृत्वमा पुगेको छ । त्यसैले यी विषयले प्राथमिकता पाउने छ भनि प्रदेशवासीमा आशा जाग्नु अनौठो होईन । मुख्यमन्त्रीमा पदवहाली लगत्तै सिंहले यी विषयलाई समेटेर नै निर्णय पुस्तिकामा हस्ताक्षर समेत गरिसकेका छन् । आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम निर्माणमा लाग्ने समय बित्नै थालिसकेका कारण प्रदेश सरकारले अवश्य नै यसमा ध्यान दिने नै छ । आगामी बजेटबाट पनि मुख्य मन्त्रीको प्रतिबध्दता केकति समेटिएर आउने हो भन्ने कुरा बारे जानकारीकालागि अझै केही दिन प्रतिक्षा गर्नै पर्ने हुन्छ ।
विहानीले दिनको संकेत गर्छ भने झैं बजेटमा यस्ता विषय समेटिएर आऊन् र तिनको कार्यान्वयन पनि होस् । तव मात्र जनताले पनि प्रदेश सरकारको कार्यशैलीको प्रशंसा गर्ने आधार तयार हुनेछ ।