अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरी शाखाले सप्तरीबाट सबैभन्दा बढी उजुरी परेको भनि जनाएको छ ।
मंगलबार उक्त कार्यालयले सप्तरीकै राजगढ गाउँपालिकामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिईएको हो । यसरी उजुरी पर्न थालेपछि पक्कै पनि त्यहाँ केही न केही कमजोरी छ भन्ने नै सन्देश जानेमा शंका रहन्न । यस प्रकारको शंका निबारणकालागि पहिला ती कमजोरी सुधारको विकल्प रहन्न । सप्तरीमा विभिन्न अनियमितताका समाचार निरन्तर जसो नै आउने गरेका छन् । कतिपय कर्मचारी,जनप्रतिनिधि समेत घुस लिएको आरोपमा पक्राउ पनि परिसकेका छन् । केही निर्माण व्यवसायी समेत अनियमितता गरेको आरोपमा मुछिएका छन् । तव पनि यस प्रकारका उजुरीको संख्या अग्रस्थानमा रहनु भनेको पक्कै पनि दालमा केही कालो छ भन्ने हिन्दी उखानलाई चरितार्थ गरेको मान्न सकिन्छ । उजुरी परेको कारणले भ्रष्टाचार र अनियमितता नै बढ्यो भन्ने रुपमा मात्र बुझ्नु भन्दा पनि यस्ता गतिबिधिका बिरुध्द चेतना जागृत भयो भन्ने रुपमा पनि लिनु पर्ने हुन्छ । हावा नचलि पात हल्लिँदैन भने झैं कमजोरी पक्ष नभई उजुरी किन पो दर्ता होला र ?
जे भए पनि अख्तियारमा सप्तरीका उजुरी संख्या बढी रहनु भनेको पक्कै पनि सोच्नु पर्ने विषय हो । भ्रष्टाचार र अनियमितता विकासका समेत बाधक भएका कारण यिनका बिरुध्द आआफ्नो स्तरबाट उठ्न सकियो भने मात्र सुशासनको प्रत्याभूति मिल्नेछ ।