सप्तरीको सप्तकोशी नगरपालिका भित्र रहेका विभिन्न नदीजन्य पदार्थहरुको उत्खन्न तथा संकलन कार्यको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) माथि आईतबार सार्वजनिक सुनुवाई गरिएको छ ।
स्थानीय सरकारको हैसियतले आफ्ना क्षेत्रभित्रका महत्वपूर्ण प्राकृतिक स्रोतको अवस्था, त्यसको दोहनबाट पर्न सक्ने प्रभाव, तिनको संरक्षण जस्ता कुरामा यसरी सुन्ने र सुनाउने कार्यक्रमको आयोजना गरिने निश्चय पनि सकारात्मक कार्य हो । यस्ता कार्यक्रमको आयोजना गर्दा प्राकृतिक स्रोत साधनको दाहनका कारण भोग्नु परिरहेका समस्याका बारेमा सुन्ने जान्ने बुझ्ने अवसर पाईनाका साथसाथै ती स्रोत साधनको संरक्षण र सदुपयोगका सवालमा पनि सम्बन्धित निकायको ध्यानाकर्षणको अवसर पनि मिल्ने भएका कारण यस्ता कार्यक्रमको उपादेयता बढी रहने हुन्छ । तर यदाकदा एक दिन यस्तो कार्यक्रम गरे पनि बाँकी अन्य दिनमा दोहनलाई छुट नै दिईरहने हो भने यसैका कारणले विभिन्न प्राकृतिक विपद आउन सक्छ भन्ने कुरा प्रति भने सचेत हुनै पर्दछ । सप्तरीका विभिन्न खोलाबाट नदीजन्य पदार्थ निकालेर लैजाने क्रम रोकिएको छैन ।
पटक–पटक यस सम्बन्धि समाचार पनि नलेखिएका होईनन् । तर समाचार आएपछि दुई, चार दिनसम्म तात्ने अनि त्यसपछि पुरानै रबैया चालु हुने गरेका कारण सुटिंगकै रुपमा यस्तो गोरखधन्दा चल्ने गरेको भनी जनस्तरबाटै प्रतिक्रिया आउन थालेका कारण व्यवहारमै यसलाई नियन्त्रण गरेर देखाउन जरुरी छ ।