मुलुकमा यति बेला विभिन्न सहकारी संस्थाबाट भएको अरबौंको घोटालाका बारेमा चर्चा परिचर्चा बढ्दो छ ।
यस्तो घोटालामा गृहमन्त्री समेत मुछिएको भन्दै कुरा उठेपछि उक्त विषयलाई लिएर संसदमा समेत हंगामा मच्चिएको छ । गृहमन्त्री लगायत अन्य संलग्नमाथि छानविनका लागि संसदीय टोली गठनको माग राख्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसदमै नाराबाजी र अवरोध गरेका कारण प्रतिनिधिसभा चल्न सकेन । अन्त्यमा छाविन टोली गठन भयो र आईतबारदेखि संसद सुचारु भएको छ । सानो सानो बचत रकम सहकारीमा जम्मा गरेर भविष्यको व्यवहार टार्ने सपना साँचेका धेरै बचतकर्ताको रकम सहकारीमा डुबेको छ । जनताले पेटै काटेर भएपनि जम्मा गरेको रकम कुम्ल्याएर सहकारीका सञ्चालक तथा दर्ताकर्ता बेपत्ता भएपछि बचतकर्ताहरुको विल्लीवाद हुन पुगेको छ । जनताले यसरी गरेको बचत रकम सुरक्षित होस् भन्नमा सरकारले आवश्यक व्यवस्था मिलाउन आवश्यक थियो । विश्वासमा परेर मिहिनेत मजदुरी गरेको रकमलाई सहकारीमा लगेर बचत गरेका जनता यतिबेला विचल्लीमा परेका छन् । जनताको रकम डुब्न नपाओस र न्याय मिलोस् भन्नकाका लागि काम गर्नु पर्ने सरकारले नै हो । सहकारी घोटालामा संलग्नहरुको पत्ता लगाई जनताको बचत रकम फिर्ता गराउनका लागि सरकारले काम गर्न सक्यो भने मात्र पीडितहरुले पनि न्याय पाउने छन् । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणमा गठित संसदीय समितिले दोषी किटान गर्ने कुरामा आशंका व्यक्त गरेका छन् । आईतबार प्रतिनिधिसभामा बोल्दै उनले ‘माछो माछो भ्यागुतो’ भने जस्तो नहोस् भनेका हुन् । सहकारीको रकम हिनामिनामा राज्यसत्तामा रहेकाहरुको समेत संरक्षण रहेको उनको दावी छ ।
अतः जसरी समिति बनेको छ यसले घोटामा संलग्नहरुको वास्तविकता पत्ता लगाई जनतालाई पीडाबाट मुक्त गराउने काममा तत्परताका साथ लाग्ने पर्दछ ।