• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बजारमा अचेल पँहेलपुर आँप लगायत अन्य फलफूल बेच्नका लागि राखेको भेटिन्छ । बोटमा चिचिला अवस्थामा रहेकै अवस्थामा बजारमा भने पकाईएका आँप विक्रीका लागि आएका हुन्छन् ।
पकाउनका लागि स्वास्थ्यका लागि घातक वस्तुको प्रयोग गरेर बजारमा ल्याईएका यस्ता फलफुलमाथि परीक्षण, चेक जाँच बिरलै हुने गरेको देखिन्छ । समय अगावै जबरजस्ती पकाएर पठाईएका यस्ता वस्तुको उपभोग स्वास्थ्यका लागि निकै हानिकारक रहने जानकारहरुको भनाई छ । फलफूल मात्र नभई विषादीयुक्त तरकारी पनि बजारमा निर्वाध बिक्री भईरहेका छन् । विशेषगरी बेमौसमी तरकारीमा बढी विषादीको प्रयोग गरी उत्पादन हुने भएकाले ती स्वास्थ्यका लागि बढी हानिकारक मानिन्छन् । बोटमा लाग्ने कीरा मार्नका लागि खेतबारीमा विभिन्न प्रकारका विषादी छिट्ने गरिन्छ । यसरी विषादी छिटेको तरकारी केही दिनसम्म खान हुँदैन । तर हाम्रो बजारमा आउने हरिया सागसब्जी तरिकामा कहिले विषादी छिटिएको थियो र ती तत्काल उपयोग गर्न लायक छन् कि छैनन् भन्ने कुनै यकीन नरहेको अवस्था छ । यस बारेमा चेकजाँच गर्ने कुनै व्यवस्था पनि नरहेका कारण ती निर्वाध रुपले बजारमा बिक्री हुँदै आएका छन् । जनस्वास्थ्यका दृष्टिले समेत गम्भीर मानिएको यस विषयप्रति सरकारले कुनै वास्ता नराखेका कारण जनताको स्वास्थ्य कसरी सुरक्षित राख्ने भन्ने अहम् सवाल उत्पन्न भएको छ ।
विषादीयुक्त तरकारी र फलफूलको चेकजाँचको तत्काल व्यवस्था मिलाएर जनस्वास्थ्यको रक्षाका लागि कदम चाल्नु जरुरी देखिन्छ ।