• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

चुरे दोहनका क्रममा मुलुकका विभिन्न ठाउँमा अहिले पानीको संकट देखा पर्न थालेको छ । खासगरी मधेश प्रदेशका जिल्लामा पानीको अभाव देखा पर्न थालेको छ ।
चापाकल, इनार सुक्न थालेपछि पिउनका लागि समेत पानीको अभाव हुन थालेपछि स्थानीयबासीहरु चिन्तामा डुबेका छन् । मधेश प्रदेशका बारा, सिरहा, धनुषा, सप्तरी लगायतका जिल्लामा पानीको अभाव बढी देखिएको स्थानीयले जनाएका छन् । यही कारणले कतिपय ठाउँमा ट्यांकरबाट पानी वितरण गर्न थालिएको छ । चुरे माथिको बढ्दो दोहनका कारणले पानीको सतह तल–तल जाने, मुहान सुक्ने जस्ता लक्षण देखा पर्न थालेका छन् । चुरेको विनाशका कारण त्यस आसपासका क्षेत्रमा पानीको बढी अभाव देखिएको छ । चुरेको वनबाट काठ, दाउरा काट्ने, उत्खन्न गरेर बालुवा, गिट्टी, कंक्रिट बेच्ने गिरोहमाथि नियन्त्रण गर्न नसकेका कारणले नै चुरेको विनाश बढेकोमा आशंका छैन । प्राकृतिक स्रोतमाथि भईरहेको यस्तो दोहनका कारण अहिले पानीको संकट देखा पर्न थालेका कारण अब पनि सचेत नहुने हो भने भविष्यमा तराईको भू–भाग मरुभूमिकरणमा बदलिने यस सम्बन्धि जानकारहरुले बताईसकेका छन् ।
चुरे संरक्षणका लागि सरकारले लगानी नगरेको पनि होईन । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम यसकै लागि लागू गरिएको पनि हो । तर जुन अनुपातमा लगानी भईरहेको छ त्यस हिसाबले परिणाम आउन नसकेको बरु उल्टै संकटका लक्षणहरु देखा पर्न थालिसकेका कारण यस प्रति गम्भीर हुनु जरुरी छ ।