केन्द्रमा सत्ता समीकरण जोगाउने तथा प्रदेशहरुमा सरकार टिकाउनका लागि नेताहरुको दौडधूप बढेको छ ।
कोही प्रमुख प्रतिनिधि नेता कहाँ त कोही प्रधानमन्त्री कहाँ भेटन गईरहेका छन् । समग्रमा अन्य कुरा भन्दा पनि सत्तालाई कसरी टिकाएर राख्न सकिन्छ भन्ने सोच र चिन्तनमै नेताहरुको बढी ध्यान आकर्षित भईरहेको देखिन थालेको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार विहान भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न खनाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । यस अघि बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सांसद भेटमणि चौधरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानिलकण्ठ पुगेका थिए । त्यहाँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुबीच पनि भेटवार्ता भएको हो । मधेश प्रदेशको जसपा नेपाल नेतृत्वको सरकारलाई जोगाउने, सुदुर पश्चिम सरकारमा काँग्रेसको सहभागिता र गण्डकीमा सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई विश्वासको मत दिने लगायतका विषयमा छलफल भएको बताईएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रहेको एकीकृत समाजवादीका अध्यक्ष विपक्षी गठबन्धनका नेताहरुसित गरेको भेटवार्ता अर्थपूर्ण रुपमा हेरिएको भएपनि प्रधानमन्त्रीले माधवकुमार नेपालको नेतृत्वको एकीकृत समाजवादी पार्टी वर्तमान सत्ता गठबन्धनमै रहने दावी गरेका छन् ।
कुरा सत्ताकै मात्र उठेका कारण मुलुक र जनताका समस्याप्रति सरकारको कहिले ध्यान पुग्ने हो भन्ने प्रश्न पनि उठ्दो छ । सत्ताको खेल भन्दा पनि जनताका समस्यालाई प्राथमिकतामा राखेर दलहरुले काम गर्नु पर्ने आवश्यकता छ ।