अढाई सय वर्ष देखिको राजतन्त्रात्मक व्यवस्था उन्मूलन गरी मुलुकमा गणतन्त्र आएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको खुशियाली स्वरुप जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको हो ।
गत मंगलबार सप्तरी सदरमुकाम राजविराजमा पनि गणतन्त्र दिवसका अवसरमा कार्यक्रमको आयोजना त गरियो । तर त्यसमा राजनीतिक दलका प्रतिनिधिको सहभागिता अत्यन्तै न्यून रहेको भन्दै टिप्पणी हुन थालेको छ । राजनीतिक दलहरुकै सक्रियता तथा अनुवाईमा भएको गणतान्त्रिक आन्दोलनका पछाडि धेरैको शहादत भएको छ । राजविराजमा आयोजित कार्यक्रममा स्थानीय प्रशासन, सुरक्षा निकाय, विद्यलायका विद्यार्थी केही सञ्चारकर्मी लगायतको उपस्थिति रहेता पनि राजनीतिक दलको सहभागिता नरहनाले यस प्रकारको टिप्पणी हुनुलाई अन्यथा भन्न सकिन्न । दलका नेताहरु गणतन्त्र तुल्याउनुको पछाडि आफ्नो पनि सहभागिताको दावी गर्न नछोड्ने अनि आफ्नै सहभागिता र सक्रियतामा आएको यस्तो ऐतिहासिक परिवर्तनको स्मरण गर्नका लागि आयोजित कार्यक्रममा चाहीँ सहभागिता नरहने हो भने यसका बारेमा विभिन्न कोणबाट प्रश्न उठ्छन नै । गणतन्त्र आएको भए पनि यसलाई संस्थागत गर्ने पक्षमा अहिले पनि धेरै काम गर्न बाँकी नै छन् ।
तसर्थ प्राप्त उपलब्धीको जगेर्नाका लागि राजनीतिक दल, जनप्रतिनिधि लगायत सरोकारवाला सबै पक्षको सक्रियता र समर्पणलाई अलग्याउन मिल्दैन ।