सरकारी अस्पतालमा सरकारले ठूलो लगानी गर्दै आएको भए पनि ती मध्येका अधिकांशको उपचार सेवा सन्तोषजनक नरहेको विरामीका आफन्तजनकै आरोप रहने गरेको छ ।
सरकारी अस्पताल भनेको विपन्न जनताकालागि पनि उपचारमा पहुँच पुग्ने उपचार केन्द्रका रुपमा चिनिने संस्था हो । तर जति लगानी गरे पनि ती अस्पतालमा विद्यमान अनेक समस्याले गर्दा विरामी निराश भई फर्कनु पर्ने अवस्था धेरै जसो सरकारी अस्पतालको छ ।
अस्पतालमा किन उपचार सेवा राम्रो छैन ? भन्ने प्रश्न लिएर जाने हो भने ती सरकारी अस्पतालका अनेक प्रकारका समस्याका बारेमा जानकारी पाउन सकिन्छ । उदाहरणकै रुपमा भन्ने हो भने उपचारकालागि आवश्यक मानिने सरकारले दिएको आधुनिक उपकरण कुनै अस्पतालमा बिग्रेको भन्ने जवाफ पाईन्छ भने कतिपयमा त्यसको सञ्चालनकालागि चाहिने प्राविधिक जनशक्ति नरहेका कारण सञ्चालनमा ल्याउन नसकिएको भनि बताईन्छ ।
लाखौं मूल्यका उपकरण सरकारले अस्पतालमा उपलब्ध गराईएको भए पनि बिग्रेर थन्किएको अवस्थाका कारण विरामीले उपचार पाउन नसकी निजी अस्पतालमा रेफर गर्ने अवस्था आउँछ भने गरीब जनताको उपचार ती महँगा निजी अस्पतालमा कसरी सम्भव होला ? सरकार परिवर्तन पिच्छे अस्पतालमा मेडिकल सुपरिटेण्डेण्टको परिवर्तन त गरिन्छ ।
तर यसरी परिवर्तन भई जिम्मेवारीमा आएका ती सुपरिटेण्डेण्टले पनि काम गर्नुको साटो बहाना रचेर नै दिन कटाउने अनि विरामी चाहिँ रेफर भई बाहिर जानु पर्ने अवस्था नै रहने हो भने सरकारी अस्पतालको उपचार सेवामा कसरी सुधार सम्भव हुन सक्ला ? सरकारी अस्पताललाई राजनीतिक भर्तिकेन्द्र वा सरुवा मात्र गरिने निकायका रुपमा नलिई उपचार सेवामा सुधारको आवश्यकता छ ।