• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

काठमाण्डौं महानगरपालिकाले पिउने पानीका बोतल तथा जार तोकिएको मापदण्ड पूरा गरेर मात्र बेच्नकालागि ध्यानाकर्षण गराएको छ ।
बजारमा लेउ लागेका मूल्य र उत्पादन मिति उल्लेख नभएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महानगरले पनि सम्बधित पक्षलाई यस्तो ध्यानाकर्षण गराएको हो । आम नागरिक उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुन सक्ने क्रियाकलापको नियन्त्रणकालागि प्रशोधित पानी उद्योगी तथा व्यवसायीहरु एवम् महानगरपालिकाको सहकार्य आवश्यक रहेको भन्दै जारी सूचनामा प्रशोधित पिउने पानी उत्पादन सम्बन्धि जारी निर्देशिका २०७४ मा तोकिएको मापदण्ड पूरा गरेर मात्र पानी ढुवानी तथा बिक्री वितरणको प्रबन्ध मिलाउन अनुरोध गरिएको छ । प्रसंग काठमाण्डौं महानगरपालिकाको मात्र होईन । सप्तरीमा पनि यस प्रकारका पानी उद्योग धेरै रहेको पाईन्छ । जिल्लाभरिमा कति यस्ता उद्योग छन् भन्ने तथ्यांक उल्लेख गर्नु भन्दा पनि यहाँ विभिन्न ब्राण्डमा बेचिने गरेको पानीलाई हेर्दा नै यस्ता उद्योगको संख्या धेरै रहेको बुझ्न सकिन्छ । यसरी बजारमा पठाईने पानी मध्ये धेरैमा केही न केही त्रुटी भेटिने गरेको छ । बढी जसो पानीका बोतलमा उत्पादन मिति प्रष्ट नदेखिने गरेको,बोतल कुच्चीएको तथा सिल समेत ठीक अवस्थामा नरहेको भेटिने गरेका कारण त्यो पानीको गुणस्तरमा आशंकाको ठाउँ फेला परेको हो । जनस्वास्थ्यको विषयकै रुपमा पानीलाई पनि लिनु पर्ने हुन्छ,कारण यदि पानी स्वस्थ्यकर छैन भने यही अनेक रोगको कारक पनि हुन सक्दछ ।
तसर्थ जिल्ला प्रशासनले बजार अनुगमनका क्रममा यस्ता पानीका उद्योगमा पनि प्राथमिकताका साथ अनुगमनको आवश्यकता छ । काठमाण्डौं महानगरले जसरी दायित्व बोधका साथ पानीका बारेमा आग्रह गरेको छ, राजविराज नगरपालिका लगायत अन्य स्थानीय तहहरुले पनि यस प्रति ध्यान दिन आवश्यक छ ।