• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पूर्व–पश्चिम लोकमार्गको सप्तरी खण्डमा यति बेला स्तरोन्नतिको काम चल्दैछ । यसैगरी सप्तरीको सदरमुकाम राजविराजलाई जोडने रुपनी– राजविराज सडकको पनि काम चल्दै छ । तर काममा भएको दिलाईले गर्दा अझै कति दिन सास्ती खेप्नु पर्ने हो? यस्सै भन्न सकिने अवस्था छैन ।
हिउँदमा धूलो अनि बर्षामा हिलो केही वर्षदेखि यी सडक आसपासका वस्तीका जनता तथा ती सडक भएर आवागमन गर्ने यात्रुले यही नियति भोग्दै आएका छन् । धूलो नियन्त्रणका लागि कहिलेकाहीँ निर्माणाधीन सडकमा पानी छर्ने काम भएता पनि बर्षामा भने झनै सास्ती खेप्नु पर्ने अवस्था छ । यसपालीको बर्षायाम सन्निकट छ । तर त्यस अगावै यसपाली पनि सडक निर्माणको काम पूरा हुने छाँटकाँट देखिएको छैन । यही गतिले काम गर्ने हो भने बर्षा लागेपछि सडकको आवागमन अझै कष्टदायक हुने निश्चित नै छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले केही महिना पूर्व सडकमा भईरहेको कामका बारेमा जानकारी लिनका साथसाथै आवश्यक निर्देशन पनि दिईसकेको छ । काममा भएको ढिलाई तथा त्यसले गर्दा सर्वसाधारणमा पर्ने गरेको कठिनाई समेतलाई ध्यानमा राखेर तदारुकताका साथ काम गराउनका लागि सम्बन्धित पक्षले समय–समयमा अनुगमन गर्नेतिर पनि ध्यान दिनुपर्ने हुन्छ । राजविराज रुपनी सडकको अवस्था त दशकौं देखि बिग्रेकै अवस्थामा रहेको थियो ।
करिब १० किलोमिटरको यस सडकमा थालिएको स्तरोन्नति पनि ढिलाईका कारण कहिले पूरा होला भनी यकीन गर्ने सकिने अवस्था नरहेको स्थानीयकै भनाई छ । छोटो दुरीको रहेका कारण यस सडकको काम पनि छिट्टै सम्पन्न गर्न ध्यान दिए जनताले थोरै भए पनि राहतको महशुस गर्ने थिए ।