हावाहुरीले छानो उडाउँदा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ स्थित प्राथमिक विद्यालय सडेपारको पठनपाठन प्रभावित बनेको छ ।
एक महिना अघि आएको हावाहुरीले तिनको छानो उडाएकोमा अहिलेसम्म त्यसको मर्मत सम्भार नहुँदा कलिला बालबालिकाको पठनपाठन प्रभावित हुने अवस्था आएको हो । यतिबेला हावाहुरी तथा वर्षायाम छ । वर्षा नभएको समयमा पनि चर्को धाम लाग्ने गर्दछ । यस्तो प्रतिकूल समयमा विद्यालयको सामान्य टिनको छानो मर्मतमा पनि सरोकारवाला कसैको ध्यान पुग्न नसक्नु निश्चय पनि दुःखद पक्ष हो । उसै पनि जीर्ण भौतिक संरचना रहेको उक्त विद्यालयको अवस्था दयनीय नै छ । त्यसमाथि भएको छानो पनि उडेका कारण एक प्रकारले खुला आकाश मुनिको बास छ । सात कोठाको आवश्यकता रहेको विद्यालयमा चारवटा मात्र कोठा उपलब्ध रहनु र छानो समेत उडाएपछि विद्यालय कसरी चल्दो होला ? सोच्नै पर्ने अवस्था छ । विद्यालय जीर्ण रहेका कारण हावाहुरीको समयमा मानवीय क्षति नै हुन सक्ने त्रास बढेको विद्यलायका प्रधानाध्यापक बताउँछन् । पठनपाठन प्रभावित हुने अवस्थामा पुगेको उक्त विद्यालयमा आवश्यक व्यवस्था मिलाउने गाउँपालिकाको पनि जिम्मेवारी हो । गुणस्तरीय पठनपाठन गर्नु पर्ने कुरामा एकातर्फ जोड दिने अनि अर्को तर्फ लथालिंग अवस्थामा पुगेको विद्यालयको भौतिक अवस्था सुधार्ने तिर चासो नलिने हो भने कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएला ? उक्त प्राथमिक विद्यालयका लाग गाउँपालिकाले बजेट व्यवस्थापन गरेर भौतिक अवस्थामा सुधार ल्याउने तर्फ ध्यान नदिने हो भने भविष्यमा विद्यालय नै बन्द हुने अवस्थामा पुगन सक्ने स्थानीय अभिभावकहरुको भनाई छ ।
बालबालिकाले सुरक्षित तवरमा पढन पाउनुपर्ने विषयलाई सम्वेदनशीलताका साथ आवश्यक सुधारको खाँचो रहेका कारण सम्बन्धित पक्षले यसप्रति शिघ्र ध्यान पु¥याउन जरुरी छ ।