सप्तरीमा उसै पनि वन क्षेत्र कम रहेको छ । त्यसमाथि भएको वनको जग्गा पनि अतिक्रमण गर्ने समस्या रहेका कारण वन विस्तारमा पनि यसले बाँधा पु¥याउने गरेको छ ।
जिल्लाको सेतीदेवी सामूदायिक वनको ९ हेक्टर अतिक्रमित जग्गा खाली गराएर पछिल्लो चरणमा डिभिजन वन कार्यालय सप्तरीले त्यसलाई वन क्षेत्र कायम गरी विभिन्न प्रजातिका विरुवा उत्पादन सुरु गरेको छ । यस्तो अतिक्रमण अन्यत्र पनि नभएको होईन । वनको जग्गामा मात्र बृक्षारोपण भन्दा पनि विभिन्न खोलाको कटान पश्चात उकास भएको जग्गामा समेत यति बेला बोट विरुवा लगाउनु पर्ने आवश्यकता बढेको छ । उसै पनि चुरे विनाशका कारण विभिन्न समस्या देखा पर्न थालिसकेको अवस्था समेतलाई मध्यनजर गरी जिल्लाको वन क्षेत्र विस्तारका साथै हरियाली कायम गर्नु पर्ने आवश्यकता बढेको छ । वन जोगाउनकालागि पहिला जनस्तरमा यसको आवश्यकतामाथि जानकारी दिने र वनबाट हुने प्रत्यक्ष,अप्रत्यक्ष फाईदाका बारेमा सम्झाएर वन संरक्षणमा जनस्तरबाट नै उत्प्रेरणा जागृत गर्न सकियो भने सप्तरीमा पनि हरियाली फर्काउन नसकिने होईन । वनको दोहन गर्ने गिरोहका क्रियाकलापमाथि निगरानी राख्नमा वन कर्मचारी भन्दा पनि जनस्तरबाट देखाईने सक्रियता बढी प्रभावकारी रहने भएका कारण जनताको साथ सहयोग लिएर वन संरक्षणमा जुट्नु पर्ने आवश्यकता छ ।
सरकारले वन संरक्षणकालागि रकम लगानी गर्दै आएको भए पनि त्यस अनुपातमा उपलब्धि नभईरहेको तीतो यथार्थ छ । यसमा वनमाथिको दोहन,अतिक्रमण जस्ता विकृतिको नै प्रमुख हात रहेका कारण ती माथिको नियन्त्रण जरुरी छ ।