राजनीति देश र जनताकालागि गर्ने भनिन्छ । वास्तवमा यो राजनीतिको पवित्र उद्देश्य पनि हो । राजनीतिका नाममा आआफ्नो स्वार्थसिद्धि गर्न थालियो भने यसले विकृति ल्याउनेमा शंका मान्नु पर्दैन ।
तर आजकाल राजनीतिका नाममा आफ्नो बर्चस्व कसरी स्थापित गर्न सकिन्छ भन्ने धेयका साथ काम गर्ने गरिएका कारण यसले विकृतिको बाटो समात्दै गएको तीतो यथार्थ छ । जुन उद्देश्य र लक्षका साथ राजनीति गरिएको हो त्यसबाट विमुख भएपछि जनतामा पनि यसले नराम्रो धारणा पैदा गर्ने आधार बढी रहन्छ । तसर्थ उद्देश्यमा अडिग रहनकालागि आफ्नो सोच पनि तदनुरुप तुल्याईनु पर्दछ । अहिले राजनीतिका नाममा शक्तिमा रहिरहने र यसकालागि विभिन्न गुट उपगुट पैदा गर्ने प्रचलन बढेर गएको छ । यसले आफ्नै पार्टीमा पनि विग्रह ल्याउने तथा एक पक्षले अर्को पक्षको तेजोबध गर्न पनि नहिचकिचाउने गरेका कारण यस प्रकारको परिपाटीले राजनीतिको गन्तव्य पहिल्याउन नसक्ने निश्चित नै छ । जनताका समस्यालाई ओझेलमा राख्ने अनि आफ्नो स्वार्थबाट मात्र प्रेरित भएर बस्ने हो भने यसले दीगो राजनीतिक भविष्यको रेखा कदापि कोर्न सकिँदैन । यदि आफ्नो पवित्र भावनाका साथ काम गरिन्छ भने त्यसले केही समय त कसैलाई पनि अप्ठ्यारोमा पार्ला । तर अन्ततो गत्वा जीत सत्यको पथमा रहनेकै हुन्छ भन्ने हाम्रो मान्यता पनि रहेको छ ।
जनतालाई शिरमा राखेर राजनीति गर्न सकियोस् । यसले राजनीतिक भविष्यलाई पनि सुनिश्चित गर्नेछ । यसका साथै यसले राजनीतिमा ईमान्दारिताको पनि परख हुनेछ ।