राजविराज नगरपालिका क्षेत्रमा एकताका पुस्तकालयको राम्रो व्यवस्था थियो । पञ्चायत कालको अन्तिम समय सम्म नगरमा रहेका लेखनाथ आदर्श पुस्तकालय, सहिद पुस्तकालयमा पाठकहरु उल्लेख्य संख्यामा आएर पढ्ने गरेको देखिन्थ्यो ।
कतिपय कोर्षका पुस्तक समेत रहेका कारण ती पुस्तकालयमा विद्यार्थीहरु समेत आउने गर्दथे । शिक्षा क्षेत्रमा अग्रणी मानिएको त्रिवि भन्दा पनि जेठो महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा टाढाटाढाका विद्यार्थी समेत आएर उच्च शिक्षा हासिल गर्ने गर्दर्थे । ती सबैका लाग क्याम्पसको पुस्तकालयमा एकै पटक पुस्तक उपलब्ध गराउन सम्भव नभएका कारणले पनि विकल्पका रुपमा यी दुई पुस्तकालयहरुको उपादेयता विद्यार्थीहरुका लागि बढेको थियो । पञ्चायती व्यवस्थाको अवस्था सँगै बहुदलीय व्यवस्था आगमन पश्चात सहिद पुसतकालयको अवस्था विग्रदै गयो । भाडाको कोठामा सञ्चालन हुँदै आएको उक्त पुस्तकालयको माध्यमबाट प्रजातन्त्रका लागि त्यति बेलाको प्रतिबन्धित अवस्थामा पनि विभिन्न गतिविधि हुँदै आएका थिए । तर प्रजातन्त्र पुनस्र्थापना पछि नै यो पुस्तकालय बन्द हुन पुग्यो । यो दुःखद पक्ष हो । पुस्तकालयलाई टिकाउने तर्फ ध्यान नदिईएका कारणले नै यो अवस्था आएको हो ।
त्यसैगरी राजविराज नगरपालिकाले नगर सूचना केन्द्रका रुपमा सञ्चालन गर्दै आएको लेखनाथ आदर्श पुसतकालय पनि यति बेला लोप भईसकेको अवस्था छ । पढन संस्कृतिको विकासका साथसाथै शिक्षा, चेतना र नगरको समृद्धिका रुपमा रहने पुस्तकालयलाई सञ्चालनमा ल्याउने तर्फ नगरपालिकाले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।