नेपाल बैंक लि. फत्तेपुरका सुरक्षा गार्ड परशुराम फुयाँलको हत्यामा संलग्नलाई सप्तरी प्रहरीले पक्रेर सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आईतबार फुयाँलको हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो । अपराधमा संलग्न व्यक्ति पक्राउ पर्न नसकी फरार रहँदा उसले अर्को अपराध गर्ने सम्भावना रहने र यसले जनमानसमा त्रासको अवस्था रहिरने भएका कारणले पनि अपराधी पक्रेर उसलाई कानूनी कारवाही चलाएर पीडित पक्षलाई न्याय दिनु आवश्यक रहन्छ । यस दृष्टिकोणबाट पनि फुयाँलको हत्यामा संलग्नलाई पक्राउ गरी कानूनी कारवाही अघि बढाउन सक्नुलाई सप्तरी प्रहरीको सफलता मान्नुपर्दछ । अपराध नियन्त्रणका साथै अपराधीलाई कारवाही चलाउनु प्रहरकिो मुख्य जिम्मेवारी नै मानिन्छ । एउटा अपराधमा संलग्न व्यक्ति त पक्राउ गर्न प्रहरी सफल भएको छ । जिल्लामा भएका अन्य कतिपय अपराधमा संलग्न अपराधी अझै पक्राउ नपरी फरार रहेको अव स्था छ । तिनीहरुलाई समेत पक्रेर कानूनी कारवाही चलाउनु सकियो भने प्रहरीका लागि त्यो थप सफलताको विषय बन्ने छ । जिल्लामा अचेल चोरीका साथसाथै तस्करीका अवैध धन्दा बढ्न थालेका छन् । चोरीमा संलग्न व्यक्ति फरार अवस्थामै रहेका कारण पक्राउ नपरुन्जेल उनीहरु उन्मुक्त रहने नै छन् । तिनले फेरि अन्यत्र समेत चोरी गर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै चोर समात्नेतर्फ सक्रियता बढाउन आवश्यक छ । भन्सार चोरी निकासी जस्ता तस्करी घटना बढेका छन् । राजस्वमारा यस्ता गतिविधि नियन्त्रण तर्फ पनि ध्यान दिन जरुरी छ । बढ्दो तस्करीका कारणले नै भन्सार कार्यालयले लक्ष अनुसार राजस्व संकलन गर्न सकिरहेका छैनन । एकातिर भन्सार सुक्दै जाने अनि बजारमा तस्करी गरी ल्याएका सामान निर्बाध बिक्री भईरहने हो भने यसले राजस्व संकलनमाथि चुनौति नै उत्पन्न हुन सक्दछ ।
तस्करी निर्वाध चल्नुको पछाडि सेटिंगले नै काम गरेको भनी बताउन थालिएको छ । यस्तो आरोप र आशंकालाई मिथ्या सावित गर्नका लागि भएपनि भन्सार चोरी तस्करी नियन्त्रणतर्फ प्रहरी सक्रियता अपेक्षित छ ।