बैशाख महिना सकिनै लागेको छ । अबका केही दिनपछि जेठ लाग्नेछ । जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदसमक्ष प्रस्तुत हुने प्रावधान छ ।
यस हिसाबले चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नु पर्ने काम पूरा गर्नकालागि यति बेला निकै दौडधूप चलिरहेको छ । यही समयमा प्रि मनसुन पनि सुरु भएको छ । यसपछि आउने वर्षायाम नै हो । असारमा प्रायः वर्षायाम सुरु भईसक्ने भएका कारण त्यति बेला गरिने निर्माण कार्यमा गुणस्तरियताको अभाव रहने सम्बन्धित क्षेत्रका जानकारहरुको भनाई छ । वर्षाको हिलोमा सडक निर्माण गरियो भने त्यो कत्तिको टिकाउ होला ? सहजै अनुमान गर्न सकिन्छ । तर यसै बेला पनि हिलोमै सडक ढलान गर्ने,रातारात काम गरेर काम भएको देखाई भुक्तानी लिने जस्ता कार्य विगतमा पनि भएकै हुन् । आर्थिक वर्ष समाप्तिको चरणमा हतार हतार गुणस्तरहीन काम गरेर भुक्तानी लिने गरिएका कारण यस्तो प्रबृत्तिलाई असारे विकासको नामबाट सम्बोधन गर्न थालिएको छ । आँखामा छारो हाल्ने खालका यस्ता काम गरेर देखाउने अनि बजेट झ्वाम्म पार्ने परिपाटीमाथि अंकुश नलगाउने हो भने जनताले विकासको प्रतिफल पाउन नसक्नेमा आशंका रहन्न । चालु आर्थिक वर्षभित्र काम सकेर भुक्तानी नलिए बजेट फ्रिज भएर जाने कारणले हतार हतारमा काम सकेको नाटक मञ्चन मात्र हुने गरेको भनि जनस्तरबाट समेत प्रतिक्रिया आउने गरेको छ ।
तसर्थ यस्ता प्रबृत्तिलाई नरोक्ने हो भने सुशासन दिने र भ्रष्टाचार नियन्त्रण गर्ने भन्ने कुरा पनि सस्तो लोकप्रियताकालागि भनिएको भनि अर्थ नलाग्ला भन्न सकिन्न ।