सप्तरीमा केही दिन यता चोरीका घटना बढ्न थालेका छन् । सोमबार तिलाठी कोईलाडी गाउँपालिकामा मात्रै एकै राती तीन ठाउँमा चोरी भएको छ । वडा नं.६ र ७ का गरी तीन घरमा चोरी भए पनि प्रहरीले अहिलेसम्म चोर पत्ता लगाउन सकेको छैन ।
केही दिन अघि छिन्नमस्ता गाउँपालिकाका विभिन्न वडामा पनि चोरी भएको थियो । चोरी बढ्नु भनेको सुरक्षा व्यवस्थामाथिको चुनौति पनि हो । यस्ता घटना बढेपछि त्यसको नियन्त्रणकालागि सुरक्षा रणनीतिमा पनि परिवर्तन वा सुधारको आवश्यकता रहन्छ । तर सप्तरीमा चोरी नियन्त्रणकालागि पहिलेको भन्दा फरक रणनीति अघि सारिएको देखिँदैन । नियमित गस्ती,शंकास्पद व्यक्तिका बारेमा सोधपुछ तथा जानकारी लिने जस्ता कार्य गरेर भए पनि यस प्रकारका अपराधमाथि नियन्त्रणको आवश्यकता छ । जनताको जिउधनको सुरक्षा जिम्मेवारी प्रहरीमाथि नै रहेका कारणले पनि चोरी बढ्दा समेत मौनता साधेर बस्न मिल्दैन । चोरी भएपछि चोर समात्न सकिएन भने उसले फेरि अन्यत्र पनि यसै प्रकारको अपराध गर्न सक्दछ । चोर उम्किएपछि जनतामा पनि सुरक्षाको व्यवस्था सुदृढ छ भन्ने निश्चिन्तता रहन्न । विगतमा भएका कतिपय चोरी तथा अन्य अपराधमा संलग्न व्यक्ति समेत अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । यसले प्रहरीको सक्रियतामाथि नै प्रश्न उठ्न सक्ने अवस्था उत्पन्न भएको छ ।
त्यसैले शान्तिसुरक्षामाथि नै धावा बोल्ने खालका यस्ता आपराधिक घटना नियन्त्रणकालागि प्रहरी सक्रियता बढाउन जरुरी देखिन्छ । अपराध नियन्त्रका पछाडि प्रहरीको सफलता पनि जोडिएको कुरालाई बिर्सन मिल्दैन ।