• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजनीतिक दल विभाजनले प्रायः अस्थिरता नै निम्त्याउने गरेको विगतको अनुभवले पनि सावित गरिसकेको छ ।
बढी जसो सरकार टिकाउन,सरकार गिराउन,आफू मन्त्री बन्न नै यस प्रकारका गतिबिधि बढी हुने गरेका छन् । नेताहरुको आआफ्नो स्वार्थ सिध्दिकालागि हुने गरेका यस्ता कार्यले जनताकालागि भने नैराश्यताकै सञ्चार भईरहेको छ भन्दा अन्यथा नहोला । सत्तामा को जान्छ अनि कसको बहिर्गमन हुन्छ भन्ने कुरा पार्टीका नेता तथा कार्यकर्ताकालागि चासोको विषय हुन सक्ला । तर जनतालाई त्यसले कुनै तात्विक असर नपार्ने कुरामा विमति नहुनु पर्ने हो । सरकारमा जो आए पनि प्रशंका त्यसको नै हुने हो जसले जनताका समस्यालाई समाधान गर्न प्राथमिकताका साथ काम गर्दछ । सरकार बनाउने अथवा गिराउने क्रममा जनता भन्दा पनि पार्र्टीका समर्थक तथा कार्यकर्ताकालागि त्यसले तत्काल आनन्दको सञ्चार त गर्ला । तर आवधिक निर्वाचनमा त फेरि पनि जनताकै शरणमा जानु पर्छ भन्ने कुरालाई मनन गरी सोही अनुसारको काम गर्नेको राजनीतिक भविष्य पनि सुरक्षित रहन सक्ला । तर जनअपेक्षा भन्दा पनि आफ्नो स्वार्थबाट बशिभूत भएर गरिने सत्ताको चलखेलबाट त जनतामा निराशा नै बढाउने भएका कारण यस प्रकारको कार्य नगर्नु नै वेश हुन्छ । जनताले दिने मतका आधारमा नै सरकारमा को जाने अनि प्रतिपक्षमा बसेर सरकारलाई कसले सुझाव दिने भन्ने कुराको निक्र्यौल हुन सक्छ । जनमत एकातिर अनि चलखेल गरेर त्यस विपरितको बाटो हिँड्न थालियो भने कुनै समय त्यो प्रत्युत्पादक पनि हुन सक्दछ ।
तसर्थ स्वार्थ पूरा गर्नकालागि अस्थिरता निम्त्याउने भन्दा पनि जनमतले जे निर्देश गरेको छ त्यसको परिपालना नै उत्तम हुने भएका कारण राजनीतिक अस्थिरता ल्याउने भन्दा पनि त्यस्तो अवस्था आउन नपाओस् भन्ने सोचका साथ काम गरिनु उत्तम हुनेछ ।