आगलागीको घटना भएपछि यतिबेला सप्तरीको महादेवा गाउँपालिका स्थित चिम्टीमा नेताहरुको आगमन बाक्लिन थालेको छ । मंगलबार दिउँसो भएको आगलागीमा चिम्टीका एक सयभन्दा बढी घर जलेपछी धेरै जनाको विचल्ली भएको छ ।
बुधबार जनता समाजवादी पार्टीले अग्नीपीडितहरुलाई राहत वितरण गरेको छ भने बिहिवार मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, जनमत पार्टी अध्यक्ष डा. सि. के. राउत लगायतका नेताहरु, चिम्टी आएका छन् ।
जनतामाथि विपत्ति परेका बखतमा साथ दिने भनेको राजनीतिक दलका नेता तथा जनप्रतिनिधिले नै हो । भएको सबै धनमाल आगोमा स्वाहा भएपछि पीडित जनताहरु यतिबेला आफ्नो सामर्थ्यले घर बनाउन सक्ने अबस्थामा छैनन् । त्यसैले पीडाको यस समयमा जनताका साथमा रहेर उनीहरुलाई घर फर्काउने बाताबरण तयार गर्नुपर्ने आबश्यकता छ ।
अग्नीपीडितहरुलाई दलिय आधारमा राहत दिने भन्दा पनि उनीहरुको भएको नोक्सानी र आएको समस्याका आधारमा राहत दिने काम भयो भने त्यो बढी उपयुक्त मानिने छ । सबै क्षति भएकाहरुले सहज रुपमा राहत पाउन सकुन् तथा पीडितहरुको भाग खोसेर क्षति नभएकाहरुलाई राहत दिने काम नहोस् भन्ने तर्फ सजगताको पनि उत्तिकै आबश्यक छ । यसप्रति ध्यन पुर्याएर काम गर्न सक्दा मात्र वास्तविक पीडितले राहत पाउने सम्भावना प्रवल रहने छ ।
जुन व्यक्ति जुनसुकै दलको समर्थक भएपनि आगलागीले सबैलाई समान पीडा दिएको छ । त्यसैले दलिय होइन मनवीय भावनाको साथ काम गर्न जरुरी छ ।
अग्नीपीडितहरु खुल्ला आकाशमुनि बसेको स्थलमा नेताहरु आएर उनीहरुलाई धैर्य धारणलागि आग्रहका साथ राहतको बारेमा प्रतिबद्धता जनाएका छन् । यसको कार्यान्वयनतर्फ पनि ध्यान दिन आवश्यक छ ।