अचेल सप्तरीका अधिकांश पत्रकारहरुको गुनासो रहन्छ,स्थानीय तहले मागेका बखत सूचना दिँदैनन् । सूचना माग्न धाउँदा धाउँदा हैरान भए पनि अनेक बहाना रचेर झुलाई रहने तर सूचना नदिने उनीहरुको आरोप सुनिन्छ ।
स्थानीय सरकारले के कस्ता काम गर्यो,कुन कुन योजनामा कति रकम खर्च गर्यो,अनि ती योजनाको कार्यप्रगति कस्तो छ भन्ने जानकारी जनताले पाउनु पर्ने उनीहरु हकदार नै हुन् । अनि जनतालाई सूचना पस्किने सञ्चारकर्मी त्यसका सम्वाहक नै मानिन्छन् । यति हुँदा पनि पत्रकारले मागेको सूचना सहज तरिकाबाट पाउँदैनन् भने आम जनताले कसरी त्यो पाउन सक्दाहुन् ? प्रश्न पेचिलो छ । कुरा यतिमा मात्रै सिमित छैन । स्थानीय तहहरुले पत्रकारिताको विकास हुनुलाई पनि विकासकै एक कडीका रुपमा अहिले पनि पचाउन सकिरहेको अवस्था देखिँदैन । यदि यो मिथ्या हो भने सप्तरीका पत्रकारिताको विकासकालागि किन स्थानीय तहहरु ध्यान दिँदैनन् ? यसमा समन्वयको आवश्यकता रहेको हो भने समन्वयकालागि नेपाल पत्रकार महासंघको शाखाले त्यसमा समन्वयकारी भूमिका गरेर भए पनि जिल्लामा पत्रकारिताको विकासकालागि स्थानीय तहहरुलाई साथमा लिएर हिँड्नमा भूमिका गर्न आवश्यक रहन्छ ।
पत्रकारहरुको छाता संगठनका नाताले पनि महासंघले यसमा पहल लियो भने त्यसबाट जिल्लामा पत्रकारिताको उत्थानमा टेवा नै पुग्नेमा शंका नहोला । बेलाबखत आयोजना गरिने कार्यक्रममा स्थानीय तहका प्रमुखहरु प्त्रकारिताको विकास प्रति प्रतिबध्दता त जनाउँछन् । तर व्यवहारमा उनीहरुको प्रतिबध्दता कहिले कार्यान्वयन होला ? प्रश्न विचारणीय छ । पत्रकारिता कर्मकालागि आवश्यक सूचना सम्बद्ध निकायले समयमा दिनु नै पर्दछ । यसै गरी पत्रकारिताको विकास प्रति स्थानीय सरकारले पनि उम्किन मिल्दैन ।