राजविराजको मुटुमै छ आधारभूत विद्यालय केन्द्र नं. ६ । निकै पुरानो यस विद्यालयमा पठनपाठन राम्रो रहेका कारण विगतदेखि नै यसको प्रसिद्धि रही आएको कुरामा स्थानीय अभिभावकहरु नै साक्षीका रुपमा छन् भन्दा अन्यथा नहोला ।
पढाई राम्रो हुने भएका कारण विद्यार्थीको पनि उल्लेख्य उपस्थिति रहने गरेको छ । तर हाल त्यहाँ एक गम्भीर समस्या देखापरेको छ,त्यो हो सौचालयको अभाव । पहिलेको सौचालय स्तरीकरण गर्ने भनि भत्काईएपछि बैकल्पिक व्यवस्था नभएको कारणले बालवालिका देखि शिक्षकसमेतलाई समस्या भएको छ । स्तरीकरणको काम पनि बजेटको अभावले वीचमै रोकिन पुगेका कारण पहिले भएको सौचालय प्रयोग गर्नबाट पनि बञ्चित हुनु पर्ने अवस्था आएको छ । भएको सौचालय बिगारेर स्तरीकरणका नाममा नयाँ बनाउने काम भए पनि वीचमै काम रोकिएका कारण सौचकालागि सास्ती ब्यहोर्नु परिरहेको छ । सौचालयको व्यवस्था विद्यालयमा अत्यावश्यक मानिने भए पनि लामो समयदेखिको यो समस्या समाधानमा सरोकारवाला निकायको ध्यान नपुग्नु दुःखद् पक्ष नै हो । सयौंको संख्यामा रहेका बालवालिकादेखि शिक्षक कर्मचारी समेतकालागि विद्यालयमा सौचालय जरुरी हुन्छ । तर यस विद्यालयमा त्यसको व्यवस्थामा भईरहेको ढिलाईका कारण सौच गर्नकालागि विद्यालय अगाडिको मदर्सा तथा छरछिमेकी कहाँ जानु पर्ने बाध्यता छ । छिमेकीले पनि सौचालय प्रयोग गर्न दिने नदिने भन्ने कुरा उनीहरुको ईच्छामा निर्भर रहने विषय भएका कारण यस्तो सम्बेदनशील विषयमा सरोकारवाला निकायले तत्कालै ध्यान दिन आवश्यक छ । उसै पनि विद्यालयमा विद्यार्थी नटिक्ने ड्रपआउटको समस्या रहेको धेरै उदाहरण छन् ।
पठनपाठन राम्रो रहने गरेको यस विद्यालयमा पनि सौचालय अभावकै कारण त्यस्तो समस्या नआओस् भन्नाकालागि समेत ध्यानाकर्षण जरुरी छ ।