सरकारी निकायको निर्माण कार्य गर्दा पनि समयमा भुक्तानी नपाएको भन्दै कतिपय निर्माण व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।
यसै प्रकारका समस्या राजविराजमा पनि सोमबार पत्रकार सम्मेलन गर्दै एक निर्माण व्यवसायीले बताएका छन् । सरकारले त काम गरेबापतको भुक्तानी समयमा दिँदैन भने अन्यत्र पनि यस्तै अवस्था होला भनि आशंका गरिन्छ नै । हो,निर्माण कार्यमा कुनै प्रकारको कैफियत छ भने त्यस्तोमा भुक्तानी रोक्नुलाई स्वाभाविक नै मान्नु पर्दछ । तर काम गुणस्तरयुक्त छ भने गरेको काम बापतको भुक्तानी रोक्न चाहिँ मिल्दैन । निर्माण व्यवसायीले गरेका काममा जति लगानी भएको छ,त्यो उनीहरुको पूँजीकै रुपमा रहनेमा आशंका रहन्न । यदि समयमा भुक्तानी भएन भने उनीहरुले अर्को काममा रकम अभावको सामना गर्नु पर्ने हुन्छ । यस बाहेक निर्माण व्यवसायीले काममा लगाएका कामदारको ज्याला,मेशिनरी तथा निर्माण सामग्रीको भुक्तानी पनि त्यही रकमबाट नै दिने भएका कारण रोकिएको भुक्तानीले चौतर्फी प्रभाव पार्न सक्दछ । सरकारी निकायमा हुने निर्माण कार्यमा कामको अनुगमन,गुणस्तर परीक्षण लगायतका प्रकृया पूरा गरी भुक्तानी दिने व्यवस्था छ । तर कतिपय त्यस्ता कार्यालयका कर्मचारीले ठीक काममा पनि भुक्तानी रोक्ने,बहानावाजी गर्ने गरेको भनि गुनासो उठ्ने गर्दछ ।
भुक्तानी दिलाए बापत नजराना माग्ने गरिएको तथा कतिपय कर्मचारी यस्तै काम गराई दिने भनि घुस लिएबापत अख्तियारको फन्दामा पनि नपरेका होईनन् । गरेको काम बापतको नियमानुसार पाउने भुक्तानीमा पनि यसरी झुलाएर राख्ने परिपाटीमा सुधारको आवश्यकता छ ।