• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अरुको कुरा नसुन्ने तर आफ्ना मात्रै कुरा बढाई चढाई गरेर सुनाउन रुचाउने प्रवृत्ति निकै देख्न पाईन्छ । कुनै पनि विवाद उठ्दा विवादका दुवै पक्षले प्रायः यस्तै हतकण्डा प्रयोग गर्दछन् ।
सरकार र प्रतिपक्ष देखि सानातिना संस्था समेतमा उठ्ने गरेका विवादमा पनि आफ्ना पक्षमा तर्क राख्ने, कमजोरीको ढाकछोप गरी खराब पक्षलाई पर्दा हाल्ने परिपाटीले विवाद सुल्झाउनमा समस्या परेको कुरा विगतकै अनुभवबाट पनि स्मरण गर्न सकिन्छ । अरुका सही कुराका बारेमा पनि उल्लेख गर्न र आफ्ना कमजोरी पक्षका सुधारका लागि तत्परता देखाउन सकियो भने मात्र विवादको समाधानमा पनि मद्दत पुग्न सक्दिछ । लोकतान्त्रिक व्यवस्थामा फरक–फरक विचार आउन सक्छन् । तर यसैको निहुँमा विवाद बढाउनेतिर लाग्नु भन्दा पनि बहस र छलफलबाट निष्कर्षमा पुग्न सक्दा मात्र विवादको समाधान हुने र फेरि पनि सहकार्यको ढोका खुल्न सक्दछ । ‘आफू मात्रै ठीक, बाँकी बेठीक’ भन्ने सोच मात्रै पालिराख्ने हो भने यसले आफूलाई हानी पुग्न सक्दछ भन्ने कुराको हेक्का राख्नु पनि उत्तिकै आवश्यक हुन्छ । आफ्ना कमजोरी पक्षलाई तर्क कुतर्कबाट ठीक बनाउने सोचले सही मार्ग पहिल्याउन नसकिने अनि त्यस्तै सोच अर्को पक्षले पनि राखेमा विवादै नसुल्झिने भएका कारण आफ्ना कमजोरी प्रति एक कदम पछि हटेर भएपनि सच्चाएर अघि बढ्ने आँट गर्न सकियो भने यसले ल्याउने परिणाम सकारात्मक हुनेछ । चित्त नबुझेका, विवादमा उठेका विषयलाई फेरि पनि छलफल र बहसमार्फत नै निष्कर्षमा पु¥याउन सकिन्छ । भनाई पनि छ ‘वादे वादे जायते तत्वबोध’ वार्ता र छलफलबाट निष्कर्षमा पुगेर ठूला–ठूला विवादहरुको पनि समाधान गरिएका अनेकौं उदाहरण छन् ।
त्यसैले आफ्ना मात्र कुरालाई एकोहोरो लादने भन्दा पनि अरुका सही कुरा सुन्ने र मनन गर्ने धैर्यता राख्न सक्दा नै यसले दिने परिणाम पनि सकारात्मक हुनेछ ।