आज महाशिवरात्री अर्थात भगवान् शिवको पूजा अर्चनाको वशेष दिन । आजकै दिन भगवान शिव प्रकट भएको माता पार्वतीसित विवाह भएको तथा सवैशिवलिंगमा उनको उपस्थिति रहने शास्त्रमा उल्लेख छ । भौतिक प्रकृति सत्व, रज र तमोगुणले सञ्चालित रहने मानिन्छ । सत्व गुणका अधिष्ठाता भगवान विष्णु, रजका ब्रह्मा तथा तमोगुणका अधिष्ठाता भगवान शिवलाई मानिएको छ । यसैकारण शिवले श्रृष्टिको प्रलयका कार्यभार सम्हालेका र भूत, प्रेत, पिचाश जस्ता तमोगुणका प्राणीलाई संरक्षण दिने गर्दछन् भनिन्छ । पद्मपुराणका अनुसार भगवान शिवले नै माता पार्वतीलाई रामतारक मन्त्र दिएका थिए ।
जस अनुसार भगवान श्री रामको एक नाम भगवान विष्णुको सहस्र नाम तुल्य रहन्छ भनिएको छ । महादेवलाई हरेक धाम क्षेत्रको पालनकका रुपमा लिने गरिएको छ । चाहे मथुराका भुलेश्वर महादेव होस् वा गिरिराज गोवद्र्धनमा चक्लेश्वर महादेव वा नन्दगाँवमा नन्देश्वर या काव्य वनका कामेश्वर महादेव । यी सबै स्थानको रक्षाका लागि महादेवको उपस्थिति रहने जनविश्वास छ । फाल्गुण कृष्णपक्षको चतुर्दशी तिथिका दिन पर्ने महाशिवरात्री भगवान शिवका लागि सबैभन्दा बढी मनपर्ने दिन हो भन्ने शास्त्रमा उल्लेख छ ।
आशुतोष भगवान शिवको पूजा अर्चनाका साथै व्रतधारण गर्ने यस पवित्र दिनमा शिवभक्तिमा लागेर आफ्ना मनका विकार हटाउनमा सबैमा सदविचारले स्थान पाउन सकोस् । अरुको कष्टनिवारणका लागि आफैले कष्ट उठाउन तत्पर रहने शिवको महिमाबाट परोपकारी भावनाको जागरण हुन सकोस् महाविशरात्री पर्वको यस विशेष अवसरमा सबैमा मंगलमय शुभकामना, जय शम्भो !